| 24-11-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– ज्ञान धनको दान गर्नको लागि विचार सागर मन्थन गर , दानको सोख राख्यौ भने मन्थन चलिरहन्छ।” | |
| प्रश्न:– | ज्ञान मार्गमा सदा आफूलाई तन्दुरुस्त राख्ने साधन के हो? |
| उत्तर:– | सदा आफूलाई तन्दुरुस्त राख्नको लागि बाबाद्वारा जुन पनि ज्ञान घाँस (मुरली) मिल्छ, त्यसलाई खाएर फेरि उग्राउनुपर्छ अर्थात् मन्थन गर्नुपर्छ। जुन बच्चाहरूलाई मन्थन गर्ने अर्थात् हजम गर्ने बानी छ, उनीहरू बिरामी हुन सक्दैनन्। सदा तन्दुरुस्त उही हो जसमा विकारहरूको रोग छैन। |
| गीत:– | तू प्यार का सागर है... |
ओम् शान्ति। बच्चाहरूले गीत सुन्यौ। मानिसहरूले जुन पनि गीत आदि बनाउँछन्, शास्त्र आदि सुनाउँछन्, केही पनि बुझ्दैनन्। जे जति पढ्दै आएका छन् त्यसबाट कसैको कल्याण भएको छैन, झन् अकल्याण हुँदै आएको छ। सर्वको कल्याणकारी एक मात्र ईश्वर हुनुहुन्छ। तिमीले बुझेका छौ– हाम्रो कल्याण गर्ने आउनुभएको छ। कल्याणको मार्ग बताइरहनुभएको छ। विशेष तिमी बच्चाहरूको र आम सारा दुनियाँको कल्याण गर्ने एक बाबा नै हुनुहुन्छ। सत्ययुगमा सबैको कल्याण थियो, तिमीहरू सबै सुखधाममा थियौ र बाँकी सबै शान्तिधाममा थिए। यो बच्चाहरूको बुद्धिमा छ तर पोइन्ट चिप्लिन्छ, पूरा धारणा गर्दैनन्। यदि एउटा पोइन्टमा विचार सागर मन्थन गरिरहने हो भने त्यस्तो हुँदैन। जनावरहरूमा जति अक्कल छ, आजभोलिका मानिसहरूमा त्यति पनि अक्कल छैन। जनावर (गाई) ले घाँस खान्छन् अनि उग्राइरहन्छन्। तिमीलाई पनि भोजन मिल्छ। तर तिमीले फेरि सारा दिन उग्राउँदैनौ। उनीहरूले त सारा दिन उग्राइ नै रहन्छन्। यो तिमीलाई ज्ञान घाँस मिल्छ। योग र ज्ञान। यसमा दिनभरि विचार सागर मन्थन गरिरहनुपर्छ। जसलाई सेवाको सोख छैन, उनीहरूले विचार सागर मन्थन गरेर के गर्छन्? सोख छैन भने गर्दैनन् पनि। कोही-कसैलाई ज्ञान धन दिने सोख रहन्छ। गौशालामा मानिसहरू गएर गाईहरूलाई घाँस आदि दिन्छन्। त्यसलाई पनि पुण्य मान्छन्। बाबाले तिमीलाई यो ज्ञान घाँस खुवाउनुहुन्छ। यसमा विचार सागर मन्थन गरिरह्यौ भने खुसीमा रहनेछौ र सेवाको सोख पनि हुनेछ। कसैले लोटाभरि लिन्छन् अथवा थोपा लिन्छन्, उनीहरू पनि स्वर्गमा जानेछन्। स्वर्गको द्वार त खुल्नु नै छ। हुन त ज्ञान सागरलाई हप गर्नु छ। कसैले त सारा हप गर्छन्, कसैले त थोपा लिन्छन् तैपनि स्वर्गमा त जानेछन्। बाँकी जति-जति धारणा गर्छन् त्यति उच्च पद पाउनेछन्। बाँकी स्वर्गमा एक थोपाले पनि जानेछन्। मानिस मर्दा उसलाई गङ्गाको एक थोपा दिन्छन्। कसैले घरमा सदैव गङ्गाजल नै पिउँछन्। कति पिउँदा हुन्! गङ्गा त बगिरहन्छ। त्यसलाई त कसैले हप गर्न सक्दैन। तिम्रो लागि त गाइएको छ– सागरलाई हप गरे। जो ज्ञान सागरको समीप आउँछन्, धेरै सेवा गर्छन् उनीहरू नै विजय मालामा उनिन्छन्। जति-जति जसले हप गर्छन् र अरूको कल्याण गर्छन् उनीहरूले पद पनि पाउँछन्, जति धारणा गर्छौ त्यति खुसी पनि हुनेछ। धनवानलाई खुसी हुन्छ नि। जोसँग धेरै अथाह धन हुन्छ, दान गर्छन्, कलेज, धर्मशाला, मन्दिर आदि बनाउँछन्, तब उनीहरूलाई त्यति खुसी पनि रहन्छ। यहाँ त तिमीलाई अविनाशी ज्ञान रत्न मिल्छ। २१ जन्मको लागि अविनाशी खजाना। जसले राम्रोसँग धारण गरेर फेरि दान पनि गर्छन्, उनीहरूलाई राम्रो पद मिल्छ। कोही-कोही बच्चाहरूले लेख्छन्– बाबा, मलाई नोकरी छोडेर यस रुहानी सेवामा लागौँ भन्ने दिल हुन्छ। प्रोजेक्टर, प्रदर्शनी लिएर घुमिरहूँ। एक थोपा पनि कसैलाई मिल्यो भने कल्याण हुनेछ। सेवाको धेरै सोख छ। बाँकी हरेकको अवस्थालाई बाबाले जान्नुहुन्छ। सेवाको साथसाथै फेरि गुण पनि चाहिन्छ। न क्रोध होस्, न कुनै उल्टो-सुल्टो ख्याल आओस्। विकारहरूको कुनै पनि रोग नहोस्। तन्दुरुस्ती राम्रो चाहिन्छ। जसमा विकार कम छन्, बाबाले भन्नुहुन्छ– ऊ तन्दुरुस्त छ। बाबाले महिमा गर्नुहुन्छ नि। गाइएको पनि छ– को-को असल महारथी हुन्। उनीहरूले फेरि असुर र देवताहरूको लडाइँ देखाएका छन्। देवताहरूको जित भयो। अहिले हाम्रो लडाइँ ५ विकार रूपी असुरहरूसँग छ। अरू कुनै किसिमका मानिस असुर हुँदैनन्, जसमा आसुरी स्वभाव छ उनीहरूलाई नै असुर भनिन्छ। नम्बर वन आसुरी स्वभाव कामको हो, त्यसैले संन्यासीहरू पनि यसलाई छोडेर भाग्छन्। यी आसुरी अवगुणहरूलाई छोड्नमा मेहनत लाग्छ। बस्नु पनि गृहस्थमा छ तर आसुरी स्वभाव छोड्नु छ। पवित्र बन्नाले मुक्ति-जीवनमुक्ति मिल्छ। कति ठुलो प्राप्ति छ। उनीहरू त घरबार छोडेर भाग्छन्, प्राप्ति केही छैन। यी चित्रहरूमा कति राम्रा-राम्रा बुझ्ने कुराहरू छन्। ती मानिसहरूले त केवल चित्रहरूको शो गर्छन्। केवल चित्र हेर्नको लागि कति जान्छन्। फाइदा केही पनि छैन। यहाँ यी चित्रहरूमा कति ज्ञान छ, यसबाट धेरै फाइदा हुन्छ। यसमा कला आदिको कुनै कुरा छैन। न कुनै बनाउने व्यक्तिको होसियारी आदि छ। उनीहरूको त चित्रमा नाम लेखिएको हुन्छ। कलाकारलाई पनि इनाम मिल्छ। कतिले यति बुझ्छन्– हो, बाबालाई त अवश्य याद गर्नुपर्छ। यति भन्यो भने पनि प्रजा बन्यो। प्रजा त अथाह बन्नु छ। म त ज्ञानको सागर हुँ। एक थोपा पनि कसैलाई मिल्नाले स्वर्गमा आइ नै हाल्नेछन्। तिमीले बुझेका छौ– प्रदर्शनी, मेलाबाट धेरैको कल्याण हुन्छ। ईश्वर कल्याणकारी हुनुहुन्छ नि। तिम्रो पनि कल्याण भइरहेको छ। तर यसमा फेरि आफ्नो विचार सागर मन्थन चलिरहोस्। स्मृतिमा ल्याइरह्यो भने धेरै फाइदा हुनेछ। उल्टो-सुल्टो कुरा त एक कानले सुनेर अर्को कानबाट निकालिदिनुपर्छ। बाबा भन्नुहुन्छ– म तिमीलाई धेरै राम्रा कुरा सुनाउँछु। नम्बर वन मुख्य कुरा एउटै हो– कसैलाई पनि बाबाको परिचय देऊ। बस्, एक बाबालाई याद गर, उहाँ नै सबैथोक हुनुहुन्छ। भक्तिमार्गमा यस्ता धेरै हुन्छन्। भन– तपाईंले त यो धेरै राम्रो गर्नुहुन्छ। औँलाले इसारा गर्छन्। सबैथोक परमात्माले गराउनुहुन्छ। उहाँ सबैको कल्याणकारी माथि बस्नुहुन्छ। बस्न त तिमी आत्माहरू पनि त्यहीँ नै बस्छौ। यी सारा ज्ञानका कुरा अहिले तिमीले बुझेका छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, अहिले तिम्रो यो कपडा (शरीर) सडेको छ। सत्ययुग, त्रेतामा कति राम्रो वस्त्र थियो। अब सडेको वस्त्र कहिलेसम्म लगाउँछौ? तर यो कसैले पनि बुझ्दैनन्। बाबा आएर जब सम्झाउनुहुन्छ तब बुझ्छन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ– ज्ञान दिने एक बाबा नै हुनुहुन्छ। उहाँ सागर हुनुहुन्छ। जसले सागर हप गर्छन्, उनीहरू नै विजय मालाका दाना बन्छन्। उनीहरू सदैव सेवामा नै तत्पर रहन्छन्। बाबा आउनुभएको नै बच्चाहरूलाई पावन बनाउन हो, पावन बनेर फेरि फिर्ता जानु छ। जहाँबाट आएका छौ फेरि त्यहीँ नै नम्बरवार जानेछौ। अघि-पछि जान सक्दैनौ। नाटकमा कलाकारहरूको अभिनय टाइममा हुन्छ नि। यसमा पनि जो कलाकारहरू छन् उनीहरू नम्बरवार आ-आफ्नो समयमा आउँदै जानेछन्। यो बेहदको नाटक बनेको छ। ब्रह्ममा हामी आत्मा बिन्दी रहन्छौँ। त्यहाँ अरू के होला र? कहाँ एक आत्मा बिन्दी, कहाँ यति ठुलो शरीर। आत्माले कति थोरै ठाउँ लिन्छ। ब्रह्म महतत्त्व कति ठुलो छ। जसरी पोलारको अन्त्य हुँदैन, त्यसरी नै ब्रह्म महतत्त्वको पनि अन्त्य हुँदैन। अन्त्य पाउनको लागि कति कोसिस गर्छन्, तर पाउन सक्दैनन्, कति मेहनत गरिरहन्छन्। तर कुनै चिज नै छैन जसलाई समातून् वा पार जाऊन्। साइन्सको घमण्ड कति छ। केही पनि फाइदा छैन। सुनेका छौ नि– आकाशै-आकाश, पातालै-पाताल। चन्द्रमामा दुनियाँ होला भनी सम्झन्छन्। त्यो पनि ड्रामामा उनीहरूको पार्ट छ। फाइदा केही छैन। बाबा त आएर हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। कति फाइदा छ। बाँकी चन्द्रमामा जाऊ, छूमन्तरले विभूति आदि निकाल... यसबाट के फाइदा? अब त हामीले बेहदका बाबाबाट बेहदको वर्सा लिन्छौँ। कल्प-कल्प लिँदै आएका छौँ। विश्वको इतिहास-भूगोल रिपिट हुन्छ। यो चक्र फिरिरहन्छ। दुनियाँमा पहिला केवल भारतवर्ष मात्र थियो। तिमीहरू नै विश्वका मालिक थियौ। त्यहाँ देवताहरूलाई कुनै खण्डको थाहा हुँदैन। यी त पछि वृद्धि हुन्छन्। नयाँ-नयाँ धर्म स्थापकहरू आएर आ-आफ्नो धर्म स्थापना गर्छन्। बाँकी उनीहरूले कुनै सद्गति त गर्दैनन्, केवल धर्म स्थापना गर्छन्। उनीहरूको के गायन हुन्छ र! मुक्तिधामबाट पार्ट खेल्न आउँछन्। मानिसहरू भन्छन्– मोक्षमा बसिराखौँ। यस आवागमनको चक्रमा आउनु नै किन! तर यसमा त आउनु नै छ। पुनर्जन्म लिनु नै छ, फेरि फिर्ता जानु छ। यो बनिबनाउ ड्रामाको चक्र हो। लाखौँ वर्षको ड्रामा त कुनै हुँदै हुँदैन। यो त स्वाभाविक अनादि ड्रामा हो, यसलाई ईश्वरीय कुदरत भनिन्छ। रचयिता र रचनाको जुन कुदरत छ– त्यसलाई जान्नु पर्छ। बसेर सृष्टि चक्रलाई जान्ने पुरुषार्थ गरोस्, यस्तो कोही मानिस छैन। यो सृष्टिको चक्र कसरी फिर्छ, यो ख्याल गर्न आउँदै आउँदैन। सबैभन्दा पुरानो चित्र शिवलिङ्गको हो। खुदा आउनुभएको छ त्यसैले उहाँको यादगार बनाउँछन्। पहिला जब शिवको पूजा सुरु हुन्छ, हीराको लिङ्ग बनाउँछन्। फेरि जब भक्ति रजो-तमो हुन्छ ढुङ्गाको पनि बनाउँछन्। शिवबाबा त हीराको हुनुहुन्न। उहाँ त एक बिन्दी हुनुहुन्छ, पूजाको लागि ठुलो बनाउँछन्। म हीराको शिवलिङ्ग बनाऊँ भनी सम्झन्छन्। सोमनाथको यति ठुलो मन्दिरमा एउटा बिन्दी राख्ने हो भने त बुझ्न पनि सकिँदैन। बाबा सम्झाउनुहुन्छ– भक्तिमार्गमा के-के हुन्छ। वैज्ञानिकहरूले आविष्कार गरिरहन्छन्। राम्रा-राम्रा चिजहरू निकालिरहन्छन्। विनाशको लागि पनि निकालिरहन्छन्। पहिला बिजुली कहाँ थियो र? माटोको दियो बाल्थे।
बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू, थोरैमा राजी नहोऊ। राम्रोसँग धारण गरेर सागरलाई हप गर। जसले राम्रो सेवा गर्छन् उनीहरूले पद पनि राम्रो पाउनेछन्। सारा दिन खुसीको पारा चढिरहनुपर्छ। यो त फोहोरी दुनियाँ हो। अब यहाँबाट जानेछौँ। पुरानो दुनियाँ त खत्तम हुनु नै छ। तयारी भइरहेको छ। बाँकी थोरै दिन छन्, यसमा पनि कति सेवा गर्नु छ। सारा भारतमा त के विदेशमा पनि चारैतिर चक्कर लगाउनु छ। अखबारहरूद्वारा विदेशको कुना-कुनासम्म पनि थाहा हुनेछ। यस सिँढी आदिबाट तुरुन्तै बुझ्नेछन्। बाबा आउनु भएकै बच्चाहरूलाई फेरि स्वर्गवासी बनाउन हो। अवश्य लक्ष्मी-नारायणले भारतवर्षमा नै राज्य गरेर गएका हुन्। भारत प्राचीन देशको महिमा त धेरै गर्छन्। भारतवर्ष यस्तो थियो, भारतवर्षमा यस्ता पवित्र देवीहरू थिए भनी धेरै महिमा गर्छन्। तिमीलाई थाहा छ– हामीले बाबाबाट २१ जन्मको प्रारब्ध पाउँछौँ। बाबाले एकदम सिम्पल पढाउनुहुन्छ। द्रौपदीको पाउ दबाएको देखाउँछन्, त्यो पनि केही होइन। यो त बाबा भन्नुहुन्छ– बच्चाहरू भक्तिमार्गमा धक्का खाएर थाकेका छन्। अब म तिम्रो थकाइ मेटाउँछु, तिमी धक्का खाँदा-खाँदा पतित बनेका छौ। बाबा भन्नुहुन्छ– मैले तिम्रो थकाइ मेटाइरहेको छु। फेरि कहिल्यै दुःख देख्नेछैनौ। अलिकति पनि दुःखको नाम हुनेछैन। बाँकी पुरुषार्थ गरेर उच्च पद पाउनु छ। राम्रो पद पायौ भने भन्नेछन् नि– यिनले विगत जन्ममा असल कर्म गरेका छन्। गायन त हुन्छ नि। तर यिनीहरूले कहिले पुरुषार्थ गरेर यो पद पाए, यो कसैले जान्दैनन्! अहिले बाबाले तिमीलाई यस्तो कर्म सिकाउनुहुन्छ। तिमीलाई पनि भन्नुहुन्छ– असल कर्म गरेर उच्च पद पाऊ। यहाँ मानिसको कर्म विकर्म हुन्छ। त्यहाँ त स्वर्ग नै हो। कर्म अकर्म हुन्छ। त्यहाँ यो ज्ञान रहँदैन। बाबा भन्नुहुन्छ– कर्मको गति म जान्दछु। यतिबेला जसले असल कर्म गर्छन् उनीहरूले फल पनि राम्रो पाउनेछन्। यो कर्मक्षेत्र हो। कसैले धेरै असल कर्म गर्छन्। कोही छन् जसलाई सेवाको नै धुन लागिरहन्छ। सोध्छन्– बाबा, ममा कुनै कमी छ र? होइन, सेवा त जति गर्न सक्छन् त्यति गर्नेछन्। सेवा वृद्धि भइरहनेछ। सेवा गर्नेहरू पनि निस्कँदै जानेछन्। दिलमा चिन्ता छ बाँकी थोरै दिन छन्। अब यस्तो पुरुषार्थ गरौँ जसले गर्दा त्यहाँ पनि उच्च पद पाऔँ। बाबाले यो ज्ञान घाँस खुवाउनुहुन्छ, भन्नुहुन्छ– उग्राइराख अनि धारणा पक्का हुन्छ। खुसीको पारा पनि चढ्छ। धेरै सेवा गर्नु छ, धेरैलाई सन्देश दिनु छ। तिमी पैगम्बरका बच्चा पैगम्बर हौ। एक दिन ठुला अखबारहरूमा पनि तिम्रा चित्र छापिनेछन्। विदेशसम्म त अखबारहरू जान्छन् नि। चित्रहरूबाट बुझ्नेछन्– यो ज्ञान त परमपिता परमात्माको हो। बाँकी मन्मनाभव हुन मेहनत छ। त्यो मेहनत तिमीहरूले नै गर्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) बाबाले जुन राम्रा-राम्रा कुरा सुनाउनुहुन्छ, तिनमा विचार सागर मन्थन गरेर धेरैको कल्याणकारी बन्नु छ। उल्टो-सुल्टो कुरा एक कानले सुनेर अर्कोबाट निकालिदिनु छ।
२) कुनै पनि आसुरी स्वभाव छ भने त्यसलाई छोड्नु छ। बाबाले जुन ज्ञान घाँस खुवाउनुहुन्छ, त्यसलाई उग्राइरहनु छ।
| वरदान:– |
सर्व खजानाहरूलाई विश्व कल्याणप्रति प्रयोग गर्ने सिद्धि स्वरूप भव जसरी आफ्नो हदको प्रवृत्तिमा, आफ्नो हदको स्वभाव-संस्कारहरूको प्रवृत्तिमा धेरै समय लगाइदिन्छौ, तर आ-आफ्नो प्रवृत्तिभन्दा पर अर्थात् उपराम होऊ र हरेक संकल्प, बोल, कर्म र सम्बन्ध-सम्पर्कमा ब्यालेन्स राख्यौ भने सर्व खजानाहरूको बचतद्वारा कम खर्च बाला नशीन बन्नेछौ। अहिले समय रूपी खजाना, इनर्जीको खजाना र स्थूल खजानामा कम खर्च बाला नशीन बन, यिनलाई स्वयंको सट्टा विश्व कल्याणप्रति प्रयोग गर्यौ भने सिद्धि स्वरूप बन्नेछौ। |
| स्लोगन:– | एकको लगनमा सदा मग्न रह्यौ भने निर्विघ्न बन्नेछौ। |
अव्यक्त इसारा:– ब्रह्मा बाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
अब सेवाको, कर्मको पनि बन्धनमा नआऊ। मेरो स्थान, मेरो सेवा, मेरा विद्यार्थी, मेरा सहयोगी आत्माहरू, यो पनि सेवाको कर्मको बन्धन हो, यस कर्मबन्धनबाट न्यारा अर्थात् कर्मातीत। जसरी ब्रह्मा बाबाले सदा न्यारा र प्यारापनको ब्यालेन्स राख्नुभयो। सबैलाई अपनत्वको अनुभूति गराएर पनि हरेकको सम्बन्ध उहाँ एकसँग (निराकार बाबासँग) जोड्नुभयो, यसरी नै तिमी बच्चाहरू पनि सबैलाई अपनत्वको महसुसता दिलाएर आत्माहरूलाई समीप ठेगानामा पुर्याउने बन, तब बाबा समान भनिन्छ।