| 31-12-2024 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– बाबा जसले दिनहुँ पढाउनु हुन्छ , त्यो पढाइ कहिल्यै छुटाउनु हुँदैन , यस पढाइबाट नै भित्रको संशय हट्छ।” | |
| प्रश्न:– | बाबाको दिललाई जित्ने युक्ति के हो? |
| उत्तर:– | बाबाको दिललाई जित्नको लागि सङ्गमयुग भएसम्म बाबासँग केही पनि नलुकाऊ। आफ्नो चरित्रमाथि पूरा पूरा ध्यान देऊ। यदि कुनै पाप कर्म भयो भने अविनाशी सर्जनलाई सुनाऊ तब हल्का हुन्छौ। बाबाले जे शिक्षा दिनुहुन्छ यही उहाँको दया, कृपा वा आशीर्वाद हो। त्यसैले बाबासँग दया र कृपा माग्नुको सट्टा स्वयंलाई कृपा गर। यस्तो पुरुषार्थ गरेर बाबाको दिल जित। |
ओम् शान्ति। अहिले रुहानी बच्चाहरूले यो जानेका छौ– नयाँ दुनियाँमा सुख हुन्छ, पुरानो दुनियाँमा दु:ख छ। दु:खमा सबै दु:खमा हुन्छन् सुखमा सबै सुखमा हुन्छन्। सुखको दुनियाँमा दु:खको नामनिसान हुँदैन फेरि जहाँ दु:ख हुन्छ त्यहाँ सुखको नामनिसान हुँदैन। जहाँ पाप हुन्छ त्यहाँ पुण्यको नामनिसान हुँदैन, जहाँ पुण्य हुन्छ त्यहाँ पापको नामनिसान हुँदैन। त्यो कुनचाहिँ स्थान हो? एउटा हो सत्ययुग, अर्को हो कलियुग। यो त बच्चाहरूको बुद्धिमा अवश्य छ होला। अब दु:खको समय पूरा हुन्छ र सत्ययुगको लागि तयारी भइरहेको छ। हामी अहिले यस पतित फोहोरी दुनियाँबाट पार सत्ययुग अर्थात् रामराज्यमा गइरहेका छौं। नयाँ दुनियाँमा हुन्छ सुख, पुरानो दुनियाँमा छ दु:ख। यस्तो होइन, जसले सुख दिन्छ उसैले दु:ख पनि दिन्छ। होइन, सुख बाबाले दिनुहुन्छ, दु:ख माया रावणले दिन्छ। त्यस दुस्मनको पुतला हरेक वर्ष जलाउँछन्। दु:ख दिनेलाई सदैव जलाइन्छ। बच्चाहरूले जानेका छौ– जब त्यसको राज्य पूरा हुन्छ तब फेरि सदाको लागि समाप्त हुन्छ। ५ विकारले नै सबैलाई आदि-मध्य-अन्त्य दु:ख दिँदै आएको छ। तिमी यहाँ बसेका छौ तापनि तिम्रो बुद्धिमा यही रहन्छ– हामी बाबाको पासमा जाऔं। रावणलाई त तिमीले बाबा भन्दैनौ। कहिल्यै सुनेका छौ– रावणलाई परमपिता परमात्मा कसैले भन्छौ? कहिल्यै भन्दैनौ। कतिले सम्झन्छन्– लङ्कामा रावण थियो। बाबा भन्नुहुन्छ– यो सारा दुनियाँ नै लङ्का हो। भन्छन्– भास्कोडिगामाले डुङ्गा र जहाज स्टीमरद्वारा चक्कर लगाए। जुन बेला उनले चक्कर लगाए त्यस समयमा हवाईजहाज आदि थिएनन्। ट्रेन पनि बाफद्वारा चल्थ्यो। बिजुली बेग्लै चीज हो। अब बाबा भन्नुहुन्छ– दुनियाँ त एउटै हो। नयाँबाट पुरानो, पुरानोबाट नयाँ बन्छ। यस्तो भन्नु छैन स्थापना, पालना, विनाश। होइन, पहिला स्थापना, फेरि विनाश त्यसपछि पालना– यी ठीक शब्द हुन्। पछि गएर रावणको पालना सुरु हुन्छ। त्यो झुटो विकारी पतित बन्ने पालना हो, जसबाट सबै दु:खी हुन्छन्। बाबाले त कहिल्यै कसैलाई दु:ख दिनुहुन्न। यहाँ त तमोप्रधान बनेका हुनाले बाबालाई सर्वव्यापी भनिदिन्छन्। हेर, के बनेका छन्! यो कुरा त हिँड्दा-डुल्दा तिमी बच्चाहरूको बुद्धिमा रहनु पर्छ। छन त धेरै सहज छ। केवल परमात्मा (अल्फ) को कुरा हो। मुसलमानहरूले पनि भन्छन् उठेर अल्लाह (ईश्वर) लाई याद गर। स्वयं पनि बिहानै उठ्छन्। उनीहरूले भन्छन्– अल्लाह वा खुदालाई याद गरौं। तिमीहरूले भन्छौ– बाबालाई याद गरौं। बाबा शब्द धेरै मीठो छ। अल्लाह भन्नाले वर्सा याद आउँदैन। बाबा भन्नाले वर्सा याद आउँछ। मुसलमानहरूले बाबा भन्दैनन्। उनीहरूले फेरि अल्लाह मियाँ भन्छन्। मियाँ-बीबी। यी सबै शब्द यहाँ हुन्छन्। परमपिता परमात्मा भन्नासाथ शिवलिङ्ग याद आउँछ। युरोपवासीहरूले गड फादर भन्छन्। यहाँ त पत्थरलाई भगवान सम्झन्छन्। शिवलिङ्ग पनि पत्थरको हुन्छ। सम्झन्छन् त्यस पत्थरमा भगवान बस्नुभएको छ। भगवानलाई याद गर्दा पत्थर नै सामुन्ने आउँछ। पत्थरलाई भगवान सम्झेर पूजा गर्छन्। पत्थर कहाँबाट आउँछ? पहाडको झरनाबाट खस्दा खस्दा गोलो चिप्लो बन्छ। फेरि कसरी प्राकृतिक निसान पनि बन्छ। देवी-देवताहरूको मूर्ति यस्तो हुँदैन। पत्थरलाई कुँदी कुँदी कान, मुख, नाक, आँखा आदि कति सुन्दर बनाउँछन्। धेरै खर्च गर्छन्। शिवबाबाको मूर्तिमा त कुनै खर्च आदिको कुरा हुँदैन। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामी नै चैतन्यमा स्वयं देवी-देवता बनिरहेका छौं। जब चैतन्यमा हुन्छौ तब पूजा आदि हुँदैन। जब पत्थरबुद्धि बन्छौ तब पत्थरको पूजा गर्छौ। चैतन्यमा हुँदा पूज्य हुन्छन् अनि पुजारी बन्छन्। त्यहाँ न कुनै पुजारी हुन्छन्, न त कुनै पत्थरको मूर्ति हुन्छ। आवश्यकता नै छैन। जो चैतन्य थिए, यादगारको लागि उनीहरूको निसानी पत्थरको राख्छन्। अहिले यी देवताहरूको कहानी त तिमीलाई थाहा भइसकेको छ– यी देवताहरूको जीवन कहानी के थियो? फेरि त्यही दोहोरिन्छ। पहिला यो ज्ञान चक्षु थिएन त्यसैले पत्थरबुद्धि जस्तै थिए। अहिले बाबाद्वारा जुन ज्ञान मिलेको छ, यो ज्ञान एउटै छ तर त्यसलाई धारण गर्नेहरू नम्बरवार छन्।
तिम्रो रुद्र माला पनि यसै धारणा अनुसार नै बन्छ। एउटा हुन्छ रुद्र माला, अर्को हुन्छ रूण्ड माला। एउटा हो भाइहरूको, अर्को हो भाइ-बहिनीहरूको। हामी आत्माहरू धेरै साना साना बिन्दु समान छौं, यो त बुद्धिमा आउँछ। गायन पनि छ– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा। अहिले तिमीले जान्दछौ– हामी चैतन्य आत्मा हौं। एक सानो तारा समान छौं। फेरि जब गर्भमा आउँछौं तब पहिला कति सानो पिण्ड हुन्छ। फेरि कति ठुलो हुन्छ। त्यही आत्माले आफ्नो शरीरद्वारा अविनाशी पार्ट खेलिरहन्छ। यस शरीरलाई नै सबैले याद गर्न थाल्छन्। यो शरीर नै राम्रो-नराम्रो हुनाले सबैलाई आकर्षित गर्छ। सत्ययुगमा यस्तो भनिँदैन आत्म अभिमानी बन, आफूलाई आत्मा सम्झ। यो ज्ञान तिमीहरूलाई अहिले नै मिल्छ किनकि तिमीलाई थाहा छ– अहिले आत्मा पतित भइसकेको छ। पतित भएको हुनाले जे कर्म गर्छ त्यो सबै उल्टो हुन्छ। बाबाले सुल्टो काम गराउनु हुन्छ मायाले उल्टो काम गराउँछ। सबैभन्दा उल्टो काम हो बाबालाई सर्वव्यापी भन्नु। आत्माले जुन पार्ट खेल्छ त्यो अविनाशी छ। त्यसलाई जलाइँदैन त्यसको त पूजा हुन्छ। शरीरलाई जलाइन्छ। आत्माले जब शरीर छोड्छ तब शरीरलाई जलाउँछन्। आत्मा अर्को शरीरमा प्रवेश गर्छ। आत्मा विना शरीर दुई-चार दिन पनि राख्न सक्दैनन्। कतिले त फेरि शरीरमा औषधी आदि लगाएर पनि राख्छन्। तर के फाइदा छ? क्रिस्चियनको एक सेंट जेवीयर थिए, भन्छन् उनको शरीर अहिलेसम्म राखिएको छ। उनको पनि मानौं मन्दिर बनेको छ। कसैलाई देखाउँदैनन् केवल उनका पाउ देखाउँछन्। भन्छन् कसैले पाउ छोयो भने बिमारी हुँदैन। पाउ छोएर बिमारीबाट निको भयो भने सम्झन्छन् उनको कृपा। बाबा भन्नुहुन्छ– भावनाको भाडा मिल्छ। निश्चयबुद्धि छ भने केही फाइदा हुन्छ। बाँकी यस्तो हुने भए त धेरै भन्दा धेरै त्यहाँ जान्थे, मेला लाग्थ्यो। बाबा पनि यहाँ आउनु भएको छ फेरि पनि यति धेरै हुँदैनन्। धेरै रहने स्थान पनि छैन। जब धेरै जना हुने समय आउँछ तब विनाश भइहाल्छ। यो पनि ड्रामा बनेको छ। यसको आदि वा अन्त्य छैन। हो, वृक्षको अवस्था जीर्ण हुन्छ अर्थात् तमोप्रधान बन्छ तब यो वृक्ष परिवर्तन हुन्छ। यो कति बेहदको ठुलो वृक्ष छ। पहिला तिनीहरू आउँछन् जसलाई पहिलो नम्बरमा जानु छ। नम्बरवार आउँछन् नि। सबै सूर्यवंशी त सँगसँगै आउँदैनन्। चन्द्रवंशी पनि सबै सँगसँगै आउँदैनन्। नम्बरवार माला अनुसार नै आउँछन्। पार्टधारीहरू सबै सँगसँगै कसरी आउन सक्छन्। खेल नै बिग्रिन्छ। यो खेल धेरै एक्युरेट बनेको छ, यसमा कुनै परिवर्तन हुँदैन।
मीठा प्यारा बच्चाहरू यहाँ बस्दा बुद्धिमा यही याद रहनु पर्छ। अरू सतसङ्गमा त अरू अरू कुरा बुद्धिमा आउँछ। यो त एउटै पढाइ हो जसबाट तिम्रो कमाइ हुन्छ। ती शास्त्र आदिलाई पढ्नाले कमाइ हुँदैन। हो, केही न केही राम्रा गुण हुन्छन्। ग्रन्थ पढ्न बसे भने यस्तो होइन पढ्ने सबै निर्विकारी हुन्छन्। बाबा भन्नुहुन्छ– यस दुनियाँमा सबै भ्रष्टाचारबाट पैदा हुन्छन्। तिमी बच्चाहरूसँग कतिले सोध्छन्– त्यहाँ जन्म कसरी हुन्छ? भन, त्यहाँ त ५ विकार नै हुँदैन, योगबलबाट बच्चा पैदा हुन्छन्। पहिला नै साक्षात्कार हुन्छ– बच्चा जन्मिनेवाला छ। त्यहाँ विकारको कुरा हुँदैन। यहाँ त बच्चाहरूलाई पनि मायाले गिराइदिन्छ। कोही कोहीले त बाबालाई आएर सुनाउँछन् पनि। सुनाएनन् भने त सय गुणा दण्ड खानुपर्छ। बाबाले त सबै बच्चाहरूलाई भन्नुहुन्छ– कुनै पनि पाप कर्म भयो भने बाबालाई तुरुन्तै बताउनु पर्छ। बाबा अविनाशी वैद्य हुनुहुन्छ। सर्जनलाई सुनाउनाले तिमी हलुङ्गो हुन्छौ। सङ्गमयुग रहेसम्म बाबाबाट केही पनि लुकाउनु छैन। कसैले लुकाए भने बाबाको दिल जित्न सक्दैनन्। सबै कुरा पुरुषार्थमा आधारित छ। स्कुलमा आउँदै आउँदैनन् भने चरित्र कसरी सुध्रिन्छ? यस समयमा सबैको चरित्र खराब छ। विकार नै पहिलो नम्बरको खराब चरित्र हो, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम विकार तिम्रो महाशत्रु हो। पहिला पनि यो गीताको ज्ञान सुनेका थियौ तापनि यी सबै कुरा समझमा आउँदैनथ्यो। अहिले बाबाले डाइरेक्ट गीता सुनाउनु हुन्छ। अहिले बाबाले तिमी बच्चाहरूलाई दिव्य बुद्धि दिनुभएको छ, त्यसैले भक्तिको नाम सुन्दा हाँसो आउँछ– त्यस बेला के के गर्थ्यौं! अहिले त बाबाले शिक्षा दिनु हुन्छ। यसमा दया, कृपा वा आशीर्वादको कुरा छैन। स्वयंलाई दया, कृपा वा आशीर्वाद दिनु छ। बाबाले त हरेक बच्चालाई पुरुषार्थ गराउनु हुन्छ। कसैले त पुरुषार्थ गरेर बाबाको दिललाई जित्छन्, कसैले त पुरुषार्थ गर्दागर्दै मर्छन् पनि। बाबाले त हरेक बच्चालाई एकै प्रकारले पढाउनु हुन्छ फेरि कुनै समयमा यस्तो गहन कुरा निस्किन्छ जसले पुरानो संशय नै हट्छ, फेरि जाग्छन्। त्यसैले बाबाको पढाइ कहिल्यै छुटाउनु हुँदैन। मुख्य हो बाबाको याद। दैवी गुण पनि धारण गर्नु छ। कसैले कुनै फोहोरी कुरा बोले पनि सुनेको नसुने झैं गर्नुपर्छ। हियर नो इभिल....। उच्च पद पाउनको लागि मान-अपमान, दु:ख-सुख, हार-जित सबै सहन गर्नुपर्छ। बाबाले कति युक्तिहरू बताउनु हुन्छ। फेरि पनि बच्चाहरूले बाबाको कुरा पनि सुनेको-नसुन्यै गरे भने उनीहरूले के पद पाउलान्? बाबा भन्नुहुन्छ–अशरीरी नबनेसम्म केही न केही मायाको चोट लागिरहन्छ। बाबाले भनेको मानेनन् भने बाबाको अनादर गर्छन्। फेरि पनि बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सदा जागृत भएर बाबालाई याद गर्यौ भने उच्च पद पाउने छौ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) कसैले उल्टोसुल्टो कुरा गरे पनि नसुने जस्तो गर्नु छ, हियर नो इभिल...। दु:ख-सुख, मान-अपमान सबै सहन गर्नु छ।
२) बाबाले जे सुनाउनु हुन्छ त्यसलाई कहिल्यै बेवास्ता गरेर बाबाको अनादर गर्नु छैन। मायाको चोटबाट बच्नको लागि अशरीरी रहने अभ्यास अवश्य गर्नु छ।
| वरदान:– |
बाबा समान रहमदिल बनेर सबैलाई क्षमा गरेर स्नेह दिने मास्टर दाता भव जसरी बाबालाई रहमदिल, मर्सीफुल भनिन्छ, त्यसैगरी तिमी बच्चाहरू पनि मास्टर रहमदिल बन। जो रहमदिल छन् उनैले कल्याण गर्न सक्छन्, अकल्याण गर्नेलाई पनि क्षमा गर्न सक्छन्। उनीहरू मास्टर स्नेहका सागर हुन्छन्, उनीहरूसँग स्नेह बिना अरू केही हुँदैहुँदैन। वर्तमान समयमा सम्पत्तिभन्दा पनि ज्यादा स्नेहको आवश्यकता छ त्यसैले मास्टर दाता बनेर सबैलाई स्नेह दिँदै जाऊ। कोही पनि खाली हात नजाओस्। |
| स्लोगन:– | तीव्र पुरुषार्थी बन्ने चाहना छ भने जहाँ इच्छा छ त्यहाँ उपाय मिल्नेछ। |
विशेष नोट:–
सबै ब्रह्मा वत्सले १ जनवरीदेखि ३१ जनवरी २०२५ सम्म विशेष अन्तर्मुखताको गुफामा बसी योग तपस्या गर्दै पूरै विश्वलाई आफ्नो शक्तिशाली मनसाद्वारा विशेष सकाश दिने सेवा गर्नु हुनेछ। यही लक्ष्यले यस महिनाको अव्यक्त इसारा पठाइएको छ, ती पूरै जनवरी महिनामा मुरली पछि पढ्नु हुनेछ। यी प्वइन्टहरूमा विशेष मनन चिन्तन गर्दै मनसा सेवाको अनुभवी बन्नु हुनेछ।
सूचना:– आज मधुवनमा अव्यक्त बापदादा मिलनको शुभ दिवस हो।