नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2025 फेब्रुअरी 25

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2025 फेब्रुअरी 25 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

25-02-2025
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– सबैलाई यो खुसी को खबर सुनाऊ विश्व अब फेरि स्वर्ग बनिरहेको छ। स्वर्ग स्थापन गर्ने परमपिता परमात्मा आउनुभएको छ।”
प्रश्न:– जुन बच्चाहरूलाई स्वर्गको मालिक बन्ने खुसी छ, उनीहरूको निसानी के हुन्छ?
उत्तर:– उनीहरूको मनमा कुनै पनि प्रकारको दु:ख आउन सक्दैन। उनलाई नसा हुन्छ– हामी त धेरै महान् व्यक्ति हौँ, हामीलाई बेहदका बाबाले यस्ता (लक्ष्मी-नारायण) बनाउनुहुन्छ। उनीहरूको चालचलन धेरै रोयल हुन्छ। अरूलाई खुसीको खबर नसुनाइ बस्न सक्दैनन्।

ओम् शान्ति। बाबाले सम्झाउनु हुन्छ र प्यारा बच्चाहरूले जानेका छौ– सारा दुनियाँलाई यो सन्देश पुर्याउनु छ। तिमीहरू सबै सन्देशी हौ, यो धेरै खुसीको सन्देश सबैलाई दिनु छ– विश्व अब फेरि स्वर्ग बनिरहेको छ अथवा स्वर्गको स्थापना भइरहेको छ। जसलाई स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा भन्छन्, उहाँ नै यहाँ स्वर्ग स्थापना गर्न आउनुभएको छ। तिमी बच्चाहरूलाई निर्देशन छ– यो खुसीको खबर सबैलाई राम्ररी सुनाऊ। हरेकलाई आफ्नो धर्मको चासो हुन्छ। तिमीलाई पनि चासो छ, तिमीले खुसीको खबर सुनाउँछौ, सूर्यवंशी देवी-देवता धर्मको स्थापना भइरहेको छ अर्थात् विश्व फेरि स्वर्ग बनिरहेको छ। यो खुसी मनमा रहनुपर्छ– हामी अब स्वर्गको मालिक बनिरहेका छौं। जसलाई भित्रैबाट यो खुसी छ, उनलाई त कुनै किसिमको दु:ख हुनसक्दैन। यो त बच्चाहरूले जानेका छौ– नयाँ दुनियाँ स्थापना हुँदा दु:ख पनि हुन्छ। अबलाहरूमाथि कति अत्याचार हुन्छ। यो सदैव बच्चाहरूको स्मृतिमा रहनुपर्छ– हामीले सबैलाई बेहदको खुसीको खबर सुनाउँछौं। जसरी बाबाले पर्चा छपाउनु भएको छ– भाइ-बहिनीहरू! आएर यो खुसीको खबर सुन्नुहोस्। सारा दिन चिन्तन चलिरहन्छ कसरी सबैलाई यो सन्देश सुनाउँ। बेहदका बाबा बेहदको वर्सा दिन आउनुभएको छ। यी लक्ष्मी-नारायणको चित्रलाई देखेर त सारा दिन हर्षित रहनुपर्छ। तिमी त धेरै महान् व्यक्ति हौ त्यसैले तिम्रो कुनै पनि असभ्य चालचलन हुनुहुँदैन। तिमीले जानेका छौ– हामी बाँदरभन्दा पनि धेरै खराब थियौं। अहिले बाबाले हामीलाई यस्ता देवी-देवता बनाइरहनु भएको छ, कति खुसी हुनुपर्छ। तर अचम्म छ बच्चाहरूमा त्यो खुसी हुँदैन। न त्यो उमङ्गबाट सबैलाई खुसीको खबर सुनाउँछन्। बाबाले तिमीलाई मेसेन्जर बनाउनुभएको छ। सबैको कानमा यो सन्देश दिइराख। कसैलाई यो थाहै छैन– हाम्रो आदि सनातन देवी-देवता धर्म कहिले रचना गरियो? फेरि त्यो धर्म कहाँ गयो? अहिले त केवल चित्र छन्। अरू सबै धर्म छन्, केवल आदि सनातन देवी-देवता धर्म छँदैछैन। चित्र यहाँ नै छन्। ब्रह्माद्वारा बाबाले स्थापना गर्नुहुन्छ। तिमीले सबैलाई यही खुसीको खबर सुनाऊ अनि तिमीलाई पनि मनमा खुसी हुन्छ। प्रदर्शनीमा तिमीले यो खुसीको खबर सुनाउँछौ नि। आएर बेहदका पिताबाट स्वर्गको वर्सा लिनुहोस्। यी लक्ष्मी-नारायण स्वर्गका मालिक हुन् नि। फेरि ती कहाँ गए? यो कसैले पनि बुझ्दैन। त्यसैले भनिन्छ– अनुहार मनुष्यको, स्वभाव बाँदरको जस्तो छ। अहिले तिम्रो अनुहार मनुष्यको छ, स्वभाव देवताहरूको जस्तो बनिरहेको छ। तिमीले जानेका छौ– हामी फेरि सर्वगुण सम्पन्न बन्छौं। फेरि अरूलाई पनि यो पुरुषार्थ गराउनु छ। प्रदर्शनीको सेवा त धेरै राम्रो छ। जसलाई गृहस्थ व्यवहारको बन्धन छैन, वानप्रस्थी हुन् अथवा विधवा हुन्, कुमारीहरू हुन् उनीहरूलाई त सेवा गर्ने अवसर धेरै हुन्छ। सेवामा लाग्नुपर्छ। यतिबेला विवाह गर्नु बर्बाद हुनु हो, विवाह नगर्नु सुखी हुनु हो। बाबा भन्नुहुन्छ– यो मृत्युलोक पतित दुनियाँ विनाश भइरहेको छ। तिमी पावन दुनियाँमा जानको लागि यो सेवामा लाग्नुपर्छ। एउटा प्रदर्शनीपछि अर्को प्रदर्शनी गर्नुपर्छ। जो सेवाधारी बच्चाहरू छन्, उनीहरूमा सेवाको राम्रो सोख हुन्छ। बाबासँग कसैकसैले सोध्छन्– मैले सर्भिस छोडौं? बाबाले हेर्नुहुन्छ– लायक छ भने अनुमति दिनुहुन्छ, ठीक छ, सर्भिस गर। यस्तो खुसीको खबर सबैलाई सुनाउनु छ। बाबा भन्नुहुन्छ– आएर आफ्नो राज्य-भाग्य लेऊ। तिमीले ५ हजार वर्ष पहिला राज्य-भाग्य लिएका थियौ, अब फेरि लेऊ। केवल मेरो मतमा चल।

हेर्नुपर्छ– म भित्र कुन कुन अवगुण छन्? तिमीले यी ब्याजबाट त धेरै सेवा गर्नसक्छौ, यो फस्टक्लास चीज हो। हुन त पाई-पैसाको चीज हो तर यसबाट कति उच्च पद पाउन सकिन्छ। मनुष्यले पढ्नको लागि किताब आदिमा कति खर्च गर्छन्। यहाँ किताब आदिको त कुरा छैन। केवल सबैलाई कानमा सन्देश दिनु छ, यो हो बाबाको सच्चा मन्त्र। अरूले त सबै झुटो मन्त्र दिइरहन्छन्। झुटो चीजको मूल्य कहाँ हुन्छ र? मूल्य हीराको हुन्छ, न कि पत्थरको। यो जुन गायन छ– एक एक महावाक्य लाखौंका सम्पत्ति हुन्, त्यो यस ज्ञानलाई भनिन्छ। बाबा भन्नुहुन्छ– शास्त्र त धेरै नै छन्। तिमीले आधाकल्पदेखि पढ्दै आएका हौ, त्यसबाट त केही पनि मिलेन। अहिले तिमीलाई ज्ञान रत्न दिन्छु। तिनीहरू हुन् शास्त्रका अथोरिटी। बाबा त ज्ञानका सागर हुनुहुन्छ। उहाँका एक एक महावाक्य लाखौं-करोडौं रूपयाँका छन्। तिमी विश्वको मालिक बन्छौ। गएर पदमपति बन्छौ। यही नै ज्ञानको महिमा हो। ती शास्त्र आदि पढेर त कङ्गाल बनेका छौ। त्यसैले अब यी ज्ञान रत्नको पनि दान गर्नुपर्छ। बाबाले धेरै सहज युक्तिहरू बताउनु हुन्छ। भन, आफ्नो धर्मलाई बिर्सिएर बाहिर भट्किइरहन्छौं। हाम्रो आदि सनातन देवी-देवता धर्म थियो, त्यो धर्म कहाँ गयो? ८४ लाख योनी भनिदिनाले केही पनि बुद्धिमा बस्दैन। अहिले बाबाले सम्झाउनुहुन्छ– तिमी आदि सनातन देवी-देवता धर्मका थियौ फेरि ८४ जन्म लिएका छौ। यी लक्ष्मी-नारायण आदि सनातन देवी-देवता धर्मका हुन् नि। अहिले धर्म भ्रष्ट, कर्म भ्रष्ट बनेका छन्। अरू सबै धर्म छन्, यो आदि सनातन देवी-देवता धर्म छैन। यो धर्म हुँदा अरू धर्म थिएनन्। कति सहज छ। उहाँ बाबा, यी दादा। प्रजापिता ब्रह्मा छन् त्यसैले अवश्य बी.के. अनगिन्ति हुनुपर्छ नि। बाबा आएर रावणको जेलबाट, शोक बाटिकाबाट छुटाउनुहुन्छ। शोक बाटिकाको अर्थ पनि कसैले बुझ्दैनन्। बाबा भन्नुहुन्छ– यो शोकको, दु:खको दुनियाँ हो। त्यो हो सुखको दुनियाँ। तिमीले आफ्नो शान्तिको दुनियाँ र सुखको दुनियाँलाई याद गरिराख। निराकारी दुनियाँ भन्छन् नि। अङ्ग्रेजी शब्द धेरै राम्रा छन्। अङ्ग्रेजी त चलिरहन्छ। अहिले त अनेक भाषाहरू भएका छन्। मनुष्यले केही पनि बुझ्दैनन्– अनि भन्छन् निर्गुण बाल संस्था... निर्गुण अर्थात् कुनै गुण नभएको। त्यत्तिकै संस्था बनाइदिएका छन्। निर्गुणको पनि अर्थ जान्दैनन्। विना अर्थ नाम राखिदिन्छन्। अथाह संस्थाहरू छन्। यहाँ एउटै आदि सनातन देवी-देवता धर्मको संस्था थियो, अरू कुनै धर्म थिएन। तर मनुष्यले ५००० वर्षको सट्टा कल्पको अवधि लाखौं वर्ष लेखिदिएका छन्। त्यसैले तिमीले सबैलाई यस अज्ञान अन्धकारबाट निकाल्नु छ। सेवा गर्नु छ। हुन त यो ड्रामा बनिबनाउ छ तर शिवबाबाको यज्ञबाट खाने, पिउने तर केही पनि सेवा नगर्ने हो भने धर्मराज जो दायाँ हात हुन्, उनले अवश्य पनि सजाय दिन्छन्। त्यसैले सावधान गराइन्छ। सेवा गर्न त धेरै सहज छ। जोसुकैलाई पनि प्रेमले सम्झाइराख। बाबाकहाँ कसै कसैको समाचार आउँछ– म मन्दिरमा गएँ, गङ्गाघाटमा गएँ। सबेरै उठेर मन्दिरमा जान्छन्, धार्मिक मन भएकालाई सम्झाउन सजिलो हुन्छ। सबैभन्दा राम्रो हो लक्ष्मी-नारायणको मन्दिरमा सेवा गर्नु। ठिकै छ, फेरि उनीहरूलाई यस्तो बनाउनेवाला शिवबाबा हुनुहुन्छ, त्यहाँ गएर सम्झाऊ। जङ्गललाई आगो लाग्छ, यो सबै समाप्त हुन्छ अनि तिम्रो पार्ट पनि पूरा हुन्छ। तिमी गएर राजकुलमा जन्म लिन्छौ। राज्यभाग्य कसरी मिल्छ, त्यो पछि गएर थाहा हुन्छ। ड्रामा अनुसार पहिला नै कहाँ सुनाउँछु र। तिमीलाई थाहा हुन्छ– हामीले के पद पाउने छौं। धेरै दानपुण्य गर्नेहरू रजाइँमा आउँछन् नि। राजाहरूसँग धेरै धन हुन्छ। अहिले तिमीले अविनाशी ज्ञान रत्नको दान गर्छौ।

यो ज्ञान तिम्रो लागि नै हो। भन, आदि सनातन देवी-देवता धर्म स्थापना भइरहेको छ, पतितबाट पावन बनाउने बाबा आउनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, कति सहज छ। तर यति तमोप्रधान बुद्धि छ जसले गर्दा केही पनि धारणा हुँदैन। विकार प्रवेश भएको छ। जनावर पनि विभिन्न थरीका हुन्छन्, कुनैमा क्रोध धेरै हुन्छ, हरेक जनावरको स्वभाव अलग हुन्छ। किसिम किसिमका दु:ख दिने स्वभाव हुन्छन्। सबैभन्दा पहिला दु:ख दिने विकार हो काम कटारी चलाउनु। रावण राज्यमा हुन्छ नै यी विकारहरूको राज्य। बाबाले त दिनहुँ सम्झाइरहनु हुन्छ, कति राम्रा राम्रा बच्चीहरू छन्, विचरीहरू कैदमा छन्, जसलाई बाँधेली भनिन्छ। वास्तवमा उनीहरूमा यदि ज्ञानको पराकाष्ठा हुने हो भने फेरि कसैले पनि उनीहरूलाई पक्रन सक्दैन। तर धेरै मोहको रग (धागो) हुन्छ। संन्यासीहरूलाई पनि घरबार याद आउँछ, धेरै मुस्किलबाट त्यो रग छुट्छ। अहिले तिमीले त मित्र-सम्बन्धी आदि सबैलाई बिर्सिनु छ किनकि यो पुरानो दुनियाँ नै समाप्त हुँदैछ। यस शरीरलाई पनि बिर्सिनु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। पवित्र बन्नु छ। ८४ जन्मको पार्ट त खेल्नु नै छ। बीचमा त कोही फर्केर जानसक्दैन। अब नाटक पूरा हुन्छ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ– अब हामी आफ्नो घर जानु छ। पार्ट पूरा भयो। उत्कण्ठा हुनुपर्छ– बाबालाई धेरै याद गरौं। यादबाट विकर्म विनाश हुन्छ। घर गएर फेरि सुखधाममा आउने छौं। कतिले चाहन्छन्– छिट्टै यस दुनियाँबाट छुटौं। तर जाने कहाँ? पहिला त उच्च पद पाउनको लागि मेहनत गर्नुपर्छ नि। पहिला आफ्नो लक्षण हेर्नुपर्छ– म कहाँसम्म लायक बनेको छु? स्वर्गमा गएर के गर्नेछु? पहिला त लायक बन्नु पर्यो नि। बाबाको सपुत बच्चा बन्नुपर्यो। यी लक्ष्मी-नारायण सपुत, लायक छन् नि। बच्चाहरूलाई देखेर भगवानले पनि भन्नुहुन्छ– यो धेरै राम्रो छ, सेवा गर्नको लागि लायक छ। कसैको लागि त भनिन्छ– यो लायक छैन। बेकारमा आफ्नो पद नै भ्रष्ट बनाइदिन्छन्। बाबाले त सत्य भन्नुहुन्छ नि। पुकार्छन् पनि– पतित-पावन आउनुहोस्, आएर सुखधामको मालिक बनाउनुहोस्। धेरै सुख माग्छन् नि। बाबा भन्नुहुन्छ– केही सेवा गर्न लायक त बन। जो मेरा भक्त छन् उनीहरूलाई यो रुहानी खुसीको खबर सुनाऊ– अहिले शिवबाबाले वर्सा दिइरहनु भएको छ। उहाँले भन्नुहुन्छ– मलाई याद गर्यौ र पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। यो पुरानो दुनियाँलाई आगो लागिरहेको छ। सामुन्ने लक्ष्य-उद्देश्य देख्दा धेरै खुसी हुन्छ– म यस्तो बन्छु। सारा दिन बुद्धिमा यही याद रह्यो भने कहिल्यै पनि कुनै सैतानी (दुष्ट) काम हुँदैन। हामी यो बनिरहेका छौं फेरि यस्तो उल्टो काम कसरी गर्नसक्छौं? तर कसैको तकदिरमा छैन भने यस्ता यस्ता युक्तिहरू पनि रच्दैनन्, आफ्नो कमाइ गर्दैनन्। कमाइ कति राम्रो छ। घर बसेर सबैले आफ्नो कमाइ गर्नुछ र फेरि अरूलाई पनि गराउनु छ। घर बसीबसी यो स्वदर्शन चक्र घुमाऊ, अरूलाई पनि स्वदर्शन चक्रधारी बनाउनु छ। जति धेरैलाई स्वदर्शन चक्रधारी बनाउने छौ त्यति तिम्रो पद उच्च हुन्छ। यी लक्ष्मी-नारायण जस्तो बन्न सकिन्छ, लक्ष्य-उद्देश्य नै यही हो। हात पनि सबैले सूर्यवंशी बन्नेमा नै उठाउँछन्। यी चित्र पनि प्रदर्शनीमा धेरै काममा आउन सक्छन्। यसैमा सम्झाउनु छ। हामीलाई उच्च भन्दा उच्च बाबाले जे सुनाउनुहुन्छ, त्यही हामीले सुन्छौं। भक्तिमार्गका कुरा सुन्न हामीलाई मन पर्दैन। यो चित्र त धेरै राम्रो चीज हो। यसमा तिमीले धेरै सेवा गर्नसक्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) आफ्नो लक्षण हेर्नु छ– म कहाँसम्म लायक बनेको छु? लायक बनेर सेवाको प्रमाण दिनु छ। ज्ञानको पराकाष्ठाबाट बन्धनमुक्त बन्नु छ।

२) एक बाबाको मतमा चलेर अवगुणहरूलाई भित्रैदेखि निकाल्नु छ। दु:ख दिने स्वभावलाई छोडेर सुखदाता बन्नु छ। ज्ञान रत्नको दान गर्नु छ।

वरदान:– परीक्षा र समस्याहरूमा उदास हु नुको सट्टा मनोरञ्जनको अनुभव गर्ने सदा विजयी भव
यस पुरुषार्थी जीवनमा ड्रामा अनुसार समस्याहरू वा परिस्थितिहरू त आउनु नै छ। जन्म लिनासाथ अगाडि बढ्ने लक्ष्य राख्नु अर्थात् परीक्षाहरू र समस्याहरूलाई आह्वान गर्नु हो। मार्गमा जानु नै छ भने मार्गका दृश्यहरू नहोन् यो कसरी हुनसक्छ। तर ती दृश्यहरूलाई पार गर्नुको सट्टा यदि करेक्सन गर्न लागेमा बाबाको यादको कनेक्सन लुज हुनजान्छ र मनोरञ्जनको साटो मनलाई निराश पारिदिन्छौ। त्यसैले वाह! दृश्य वाह! को गीत गाउँदै अगाडि बढ अर्थात् सदा विजयी भवको वरदानी बन।
स्लोगन:– मर्यादामा चल्नु मतलब मर्यादा पुरुषोत्तम बन्नु हो।

सूचना: – आज मधुबनमा अव्यक्त बापदादा मिलनको शुभ दिन हो।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।