| 16-11-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– तिम्रो चलन अति मीठो , सभ्य हुनुपर्छ , क्रोधको भूत बिल्कुल नहोस्।” | |
| प्रश्न:– | २१ जन्मको प्रारब्ध पाउनको लागि बच्चाहरूले कुन कुराको ध्यान अवश्य राख्नु पर्छ? |
| उत्तर:– | यस दुनियाँमा रहँदा, सबैथोक गर्दा बुद्धिको योग एक सच्चा मासुकका साथ रहोस्। यस्तो कुनै नराम्रो बानी नहोस् जसले गर्दा बाबाको इज्जत जान्छ। घरमा बस्दा पनि यति प्रेमले बस जसले गर्दा अरूले सम्झून्– यिनीमा त धेरै राम्रा दैवीगुण छन्। |
| गीत:– | जाग सजनियां जाग.... |
ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यसको अर्थ पनि अवश्य बच्चाहरूले बुझेका होलान्। बाबा आएर नयाँ-नयाँ कुरा सुनाउनुहुन्छ। नयाँ दुनियाँको नयाँ युगको लागि यी कुरा बच्चाहरूले ५ हजार वर्ष पहिला सुनेका थिए। अब फेरि सुनिरहेका छन्। बाँकी बीचमा केवल भक्तिमार्गका कुरा नै सुनेका छन्। सत्ययुगमा यी कुरा हुँदैनन्। त्यहाँ हुन्छ ज्ञानमार्गको प्रारब्ध। अब तिमी बच्चाहरूले नयाँ दुनियाँको लागि सच्चा कमाइ गरिरहेका छौ। ज्ञानलाई आम्दानीको स्रोत भनिन्छ। पढाइद्वारा कोही वकिल, इन्जिनियर आदि बन्छन्। आम्दानी पनि हुन्छ। तिमी यस पढाइबाट राजाहरूको राजा बन्छौ। यो कति जबरदस्त कमाइ हो। अब तिमी बच्चाहरूलाई यो निश्चय छ, यदि थोरै संशय छ भने अगाडि चल्दा-चल्दै निश्चय हुँदै जानेछ। सेकेन्डमा जीवनमुक्ति गाइएको छ। बाबाको बन्यो र वर्साको मालिक बन्यो। बाबा जो स्वर्गका रचयिता हुनुहुन्छ, उहाँ मलाई मालिक बनाउन आउनुभएको छ। यो त बच्चाहरूलाई निश्चय हुनुपर्छ। यो पनि तिमीलाई थाहा छ– दुई पिता छन्। एक हुन् लौकिक पिता, अर्को हुनुहुन्छ पारलौकिक, जसलाई परमपिता परमात्मा, हे ईश्वर फादर भनिन्छ। लौकिक पितालाई कहिल्यै परमपिता भनिँदैन। सबैका सुखदाता, शान्तिदाता उहाँ एक मात्र पारलौकिक बाबा हुनुहुन्छ। सत्ययुगमा सबै सुखी रहन्छन्। बाँकी आत्माहरू शान्तिधाममा रहन्छन्। सत्ययुगमा तिमीलाई सुख-शान्ति, धन-दौलत, निरोगी काया सबैथोक थियो। त्यसैले यस्ता अति प्यारा बाबालाई सबैले पुकार्छन्। साधु-सन्तहरूले पनि साधना गर्छन् तर कसको साधना गर्छन्, यो जान्दैनन्। उनीहरूले म ब्रह्ममा लीन होऊँ भनेर ब्रह्मको साधना गर्छन् तर लीन त हुन सक्दैनन्। ब्रह्मलाई याद गर्नाले पाप कहाँ कट्छ र? बाबा भन्नुहुन्छ– म एकलाई याद गर। सर्वशक्तिमान् म हुँ कि ब्रह्म, जो रहने स्थान हो? ब्रह्म महतत्त्वमा सबै आत्माहरू निवास गर्छन्। त्यसैले ब्रह्मलाई उनीहरूले भगवान सम्झेका छन्। जसरी भारतवासीहरूले हिन्दुस्तानमा बसेको कारण आफ्नो धर्म हिन्दु सम्झेका छन्, त्यसरी नै ब्रह्म तत्त्व रहने स्थानलाई परमात्मा सम्झेका छन्, त्यो हो ब्रह्माण्ड। त्यहाँ आत्माहरू ज्योतिर्बिन्दु अन्डा आकारमा रहन्छन्, त्यसैले त्यसलाई ब्रह्माण्ड भनिन्छ। यो हो मनुष्य सृष्टि। ब्रह्माण्ड अलग हो, मनुष्य सृष्टि अलग हो। आत्मा के हो– यो कसैलाई पनि थाहा छैन। भन्छन् पनि– भृकुटीको बीचमा चम्किन्छ अजब सितारा। फेरि भन्छन्– आत्मा बुढीऔँला जस्तो छ। तर बाबा भन्नुहुन्छ– आत्मा एकदम सूक्ष्म बिन्दु हो, जसलाई यी आँखाले देख्न सकिँदैन, यसलाई देख्ने, समात्ने धेरै कोसिस गर्छन्। तर कसैलाई थाहा हुँदैन।
तिमी बच्चाहरूलाई थाहा छ, त्यसैले अब तिमीहरू विश्वलाई स्वर्ग बनाउनमा बाबाको मदतगार पनि बन्नुपर्छ। बाबा आउनुहुन्छ नै भारतभूमिमा। शिवजयन्ती यहाँ नै मनाउँछन्। जस्तै क्राइस्ट भएर गए, तब क्रिस्चियनहरूले क्रिसमस मनाइरहन्छन्। क्राइस्ट कहिले आए, त्यो पनि जान्दछन्। तर यहाँका मानिसहरूलाई यो थाहा नै छैन, बाबा कहिले आउनुभएको थियो, श्रीकृष्ण कहिले आएका थिए? कसैको बारेमा पनि उनीहरूलाई थाहा छैन। महिमा सारा श्रीकृष्णको गाउँछन्। उनलाई झुलामा झुलाउँछन्, प्रेम गर्छन् तर उनको जन्म कहिले भयो भन्ने जान्दैनन्। द्वापरमा गीता सुनाए भनिदिन्छन्। तर श्रीकृष्ण द्वापरमा त आउँदैनन्। लीला हो एक बाबाको। तब उहाँको लागि भन्छन्– हजुरको गति-मति... श्रीकृष्ण हुन् सत्ययुगका राजकुमार। पहिला नै मातालाई योगबलद्वारा बच्चा जन्मिँदै छ भन्ने साक्षात्कार हुन्छ। त्यहाँ शरीर पनि यसरी नै छोड्छन्। एउटा शरीर छोडेर अर्को लिन्छन्। सर्पको उदाहरण। वास्तवमा संन्यासीहरूले यो उदाहरण दिन सक्दैनन्। तिमीहरूले विकारी मानिसहरूलाई बसेर ज्ञानको भूँ-भूँ गरेर तमोप्रधानबाट सतोप्रधान बनाइदिन्छौ। यो तिम्रो धन्दा हो– भूँ-भूँ गरेर मनुष्यबाट देवता बनाइदिन्छौ। कछुवा आदिको उदाहरण पनि यसै समयको हो। कर्म गरेर फेरि जति समय मिल्छ, बाबालाई याद गर्नु छ। तिमीलाई थाहा छ– यो मेरो अन्तिम जन्म हो। अब नाटक पूरा हुनु छ, पुरानो शरीर छ। यसको कर्मभोग चुक्ता गर्नु छ। जब सतोप्रधान बन्नेछौँ, तब कर्मातीत अवस्था हुनेछ, फेरि हामी यस शरीरमा रहन सक्नेछैनौँ। कर्मातीत अवस्था भएपछि शरीर छोड्नेछौँ, त्यसपछि लडाइँ सुरु हुनेछ। लामखुट्टे जस्तै सबै शरीर खत्तम भएर आत्माहरू जानेछन्। पवित्र नबनी त कोही जान सक्नेछैनन्। यो हो रावणले स्थापना गरेको दुःखधाम र रामले स्थापना गर्नुभएको हो शिवालय। वास्तवमा परमात्माको नाम शिव हो, राम होइन। सत्ययुग शिवालयमा सबै देवताहरू रहन्छन्। फेरि भक्तिमार्गमा शिवको प्रतिमाको लागि मन्दिर, शिवालय आदि बनाउँछन्। अब शिवबाबाको यो तख्त हो। आत्मा यस तख्तमा विराजमान छ। बाबा पनि यहाँ छेउमा आएर विराजमान हुनुहुन्छ र आएर पढाउनुहुन्छ। सदैव त रहनुहुन्न। याद गर, तब उहाँ आउनुभयो। बाबा भन्नुहुन्छ– म तिम्रो बेहदको बाबा हुँ। वर्सा मबाट तिमीलाई मिल्नु छ। ब्रह्मा बेहदका पिता हुन् र? त्यसैले तिमीले मलाई याद गर। प्यारा बच्चाहरूलाई थाहा छ, बाबा ज्ञानका सागर हुनुहुन्छ, प्रेमका सागर हुनुहुन्छ। त्यसैले तिमी बच्चाहरू पनि प्रेमको सागर बन्नु छ। स्त्री-पुरुषले एक-अर्कालाई सच्चा प्रेम गर्दैनन्, उनीहरूले त काम विकारलाई नै प्यार सम्झन्छन् तर बाबाले भन्नुभएको छ– काम महाशत्रु हो। यसले आदि-मध्य-अन्त दुःख दिन्छ। देवताहरू निर्विकारी थिए, तब त भन्छन्– श्रीकृष्ण जस्तो बच्चा मिलोस्, श्रीकृष्ण जस्तो पति मिलोस्। कृष्णपुरीलाई याद गर्छन् नि। अब बाबाले कृष्णपुरी स्थापना गरिरहनुभएको छ। तिमी स्वयं श्रीकृष्ण जस्तो अथवा मोहन जस्तो बन्न सक्छौ। राजकुमार-राजकुमारी अरू पनि हुनेछन्। ती सबै यहाँ बनिरहेका छन्। उनीहरूको पनि लिस्ट रहन्छ। मालाका ८ दाना पनि छन्, १०८ दाना पनि छन्। मानिसहरूले ९ रत्नको औँठी लगाउँछन्। अब यी ८ को हुन्? बीचमा को छ? मीठाभन्दा मीठा बाबाद्वारा म रत्न बनिरहेको छु भन्ने पनि तिमीलाई थाहा छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, आपसमा धेरै प्रेमले चल्नु छ। नत्र बाबाको नाम बदनाम गर्नेछौ। फेरि सद्गुरुको निन्दा गराउनेहरूले ठाउँ पाउन सक्दैनन्। सबैलाई मन्त्र पनि बताउनु छ– एक बाबालाई याद गर्नुहोस्, तब खोट निस्किन्छ। घरमा पनि यति प्रेमले चल्नुपर्छ जसले गर्दा अरूले सम्झून्– यिनमा क्रोध छैन। धेरै प्रेम आएको छ। रक्सी, चुरोट आदि पिउनु धेरै नराम्रो बानी हो, यस्ता सबै नराम्रा बानीहरू छोडिदिनुपर्छ। दैवीगुण यहीँ धारण गर्नु छ। राजधानी स्थापना गर्नमा मेहनत लाग्छ। अरू धर्मकाहरूले राजधानी स्थापना गर्दैनन्। उनीहरू माथिबाट एकदम पछाडि आइरहन्छन्। तिमीहरूले २१ जन्मको प्रारब्ध बनाइरहेका छौ, यसमा मायाका तुफान धेरै आउनेछन्। तैपनि पुरुषार्थ गरेर दैवीगुण धारण गर्नु छ। यदि क्रोधले कुरा गर्यौ भने मानिसहरूले भन्छन्– यिनमा भूत छ। अर्थात् बेहदका बाबाको इज्जत गुमायौ। फेरि यसरी उच्च पद कसरी पाउनेछौ? धेरै मीठो अनासक्त बन्नु छ। यहाँ रहँदा, सबैथोक गर्दा योग मासुकका साथ हुनुपर्छ बाबाले भन्नुभएको छ– मलाई याद गर्यौ भने पाप भस्म हुन्छ, यसलाई योगाग्नि भनिन्छ। यहाँ हठयोगको आवश्यकता छैन। आफ्नो शरीर तन्दुरुस्त राख्नु छ, अति मूल्यवान् शरीर हो। भोजन पनि शुद्ध खानु छ। देवताहरूलाई कस्तो भोग लगाउँछन्। श्रीनाथद्वारा गएर हेर, बङ्गालमा त कालीमा बोकाको भोग लगाउँछन्। उनीहरूले आफ्ना पितृहरूलाई पनि माछा खुवाउँछन्। नत्र पितृ नाराज हुन्छन् भनी सम्झन्छन्। कसैले रीति चलाएको छ, त्यो चलिरहन्छ। देवी-देवताहरूको राज्यमा कुनै पाप हुँदैन। त्यो हो रामराज्य। यहाँ कर्म विकर्म बन्छन्। त्यहाँ कर्म अकर्म बन्छन्। अब हरिद्वारमा गएर बस्छन्। हरि श्रीकृष्णलाई भन्छन्। अब श्रीकृष्ण त सत्ययुगमा हुन्छन्। वास्तवमा हरि नाम शिवको हो, दुःख हर्ने। तर गीतामा श्रीकृष्णको नाम राखिदिएर हरि श्रीकृष्णलाई सम्झेका छन्। वास्तवमा दुःख हर्ने हुनुहुन्छ शिवबाबा। हरिको द्वार सत्ययुगलाई भनिन्छ। भक्तिमार्गमा जे आउँछ, बोलिरहन्छन्।
बाबा भन्नुहुन्छ– म सङ्गमयुगमा आउँछु, पुरानो दुनियाँलाई नयाँ बनाउन। रावण हो पुरानो दुस्मन। हरेक वर्ष त्यसलाई जलाउँछन्। कति पैसा खर्च गर्छन्। सबै समयको बर्बादी, पैसाको बर्बादी हो। बङ्गालमा कति देवीहरू बनाउँछन्, तिनलाई खुवाएर-पिलाएर पूजा गरेर फेरि गएर डुबाउँछन्। यसमा एउटा गीत छ। बच्चाहरू धेरै मीठो बन्नु छ। कहिल्यै रिसाएर कुरा गर्नु हुँदैन। बाबासँग कहिल्यै रुष्ट हुनु छैन। रुष्ट भएर यदि पढाइ छोड्यौ भने अर्थात् आफ्नो खुट्टामा आफैँ बन्चरो हान्यौ। यहाँ तिमी विश्वको मालिक बन्न आएका हौ। महाराजा श्री नारायण, महारानी श्री लक्ष्मीलाई भनिन्छ। बाँकी श्री श्री हो शिवबाबाको टाइटल। श्री देवताहरूलाई भनिन्छ। श्री अर्थात् श्रेष्ठ।
अब तिमी विचार गर– हामी के थियौँ? मायाले मेरो मुण्डन गरेर हामीलाई के बनाइदिएको छ। भारतवर्ष कति धनवान् थियो। फेरि कङ्गाल कसरी बन्यो? के भयो? केही पनि बुझ्दैनन्। अब तिमीलाई थाहा छ– हामी नै देवता थियौँ, फेरि क्षत्रिय बन्यौँ। उनीहरूले आत्मा सो परमात्मा भनिदिन्छन्। नत्र हम सो को अर्थ कति सहज छ। ती मानिसहरूले भन्छन्– मानिसको जन्म केवल एक हुन्छ। तर बाबा सम्झाउनुहुन्छ– मानिसको जन्म ८४ हुन्छ। ती ८४ जन्ममा तिम्रो यो सङ्गमको एक जन्म दुर्लभ छ, जतिबेला तिमीले बेहदका बाबाबाट स्वर्गको वर्सा पाउँछौ। तिमी धेरै रोयल बाबाका बच्चा हौ, त्यसैले तिमीमा कति रोयल्टी हुनुपर्छ। सभ्य मानिसले कहिल्यै चर्को स्वरले कुरा गर्दैनन्। दुनियाँमा घर-घरमा कति हङ्गामा हुन्छ। स्वर्गमा यस्तो कुनै कुरा हुँदैन। यी बाबा पनि वल्लभाचारी कुलका थिए। तैपनि कहाँ ती सत्ययुगका देवताहरू, कहाँ आजभोलिका वैष्णवहरू! वैष्णव हुन् भन्दैमा विकारमा जाँदैनन् भन्ने होइन। रावण राज्यमा सबै विकारबाट पैदा हुन्छन्। सत्ययुगमा सम्पूर्ण निर्विकारी हुन्छन्। अब तिमी सम्पूर्ण निर्विकारी बनिरहेका छौ र योगबलद्वारा विश्वको मालिक बन्छौ। तिम्रो चलन धेरै मीठो, रोयल हुनुपर्छ। कुनै वादविवाद वा शास्त्रवाद गर्नु छैन। उनीहरू जब शास्त्रवाद गर्न बस्छन्, तब एक-अर्कालाई लट्ठीले पनि हान्छन्। ती बिचराहरूको कुनै पनि दोष छैन। यस ज्ञानलाई जान्दै जान्दैनन्। यो हो रुहानी ज्ञान, जुन रुहानी बाबाबाट मिल्छ। उहाँ ज्ञानका सागर हुनुहुन्छ। उहाँको शरीरको नाम छैन, उहाँ अव्यक्तमूर्त हुनुहुन्छ। भन्नुहुन्छ– मेरो नाम शिव हो। मैले स्थूल वा सूक्ष्म शरीर लिन्नँ। ज्ञानका सागर, आनन्दका सागर मलाई नै भन्छन्। शास्त्रहरूमा के-के लेखिएको छ। हनुमान पवनपुत्र थिए, अब पवनबाट बच्चा कसरी पैदा हुन्छ? फेरि परमात्माको लागि कच्छ-मच्छ अवतार भन्छन्, कति गाली गरेका छन्। बाबा आएर सिकायत गर्नुहुन्छ– तिमीहरूले आसुरी मतमा मलाई यति गाली गर्यौ। २४ अवतारले पेट भरिएन, फेरि कण-कण, ढुङ्गा-माटोमा ठोकिदिएका छन्। यी सबै शास्त्र द्वापरदेखि बनेका हुन्। पहिला सुरुमा केवल शिवको पूजा हुन्थ्यो। गीता पनि पछि बनाइएको हो। अब बाबाले सम्झाइरहनुभएको छ, यो सारा अनादि खेल हो। अब म तिमीहरूलाई विश्वको मालिक बनाउन आएको छु, त्यसैले बाबालाई पूरा अनुसरण गर्नुपर्छ। लक्षण पनि धेरै राम्रो हुनुपर्छ। यो पनि अचम्म छ नि। कलियुगको अन्तमा के छ, फेरि सत्ययुगमा के देख्नेछौ। कलियुगमा भारतवर्ष कङ्गाल, सत्ययुगमा भारतवर्ष सम्पन्न। त्यस समयमा अरू कुनै खण्ड हुँदैन। यो गीता अध्याय रिपिट भइरहेको छ। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) म रोयल बाबाको बच्चा हौँ, त्यसैले आफ्नो चलन धेरै सभ्य राख्नु छ। चर्को आवाजले बोल्नु छैन। धेरै मीठो बन्नु छ।
२) कहिल्यै पनि बाबासँग वा आपसमा रुष्ट हुनु छैन। रुष्ट भएर पढाइ कहिल्यै छोड्नु छैन। जति पनि नराम्रा बानीहरू छन्, तिनलाई छोड्नु छ।
| वरदान:– |
फुलस्टपद्वारा श्रेष्ठ स्थिति रूपी पदक प्राप्त गर्ने महावीर भव यस अनादि ड्रामामा रुहानी सेनाका सेनानीहरूलाई कसैले पदक दिँदैन तर ड्रामा अनुसार उनीहरूलाई श्रेष्ठ स्थिति रूपी पदक स्वतः प्राप्त हुन्छ। यो पदक उनीहरूलाई नै प्राप्त हुन्छ जसले हरेक आत्माको पार्ट साक्षी भएर हेर्दै फुलस्टपको मात्रा सहजै लगाइदिन्छन्। यस्ता आत्माहरूको जग अनुभवको आधारमा हुन्छ, त्यसैले कुनै पनि समस्या रूपी पर्खालले उनीहरूलाई रोक्न सक्दैन। |
| स्लोगन:– | हरेक परिस्थिति रूपी पहाडलाई पार गरेर आफ्नो लक्ष्य प्राप्त गर्ने उड्ता पन्छी बन। |
अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
एक-अर्काको कुरालाई स्वीकार गर्नु र सत्कार दिनु, जब यी दुवै कुरा आउँछन् तब सम्पूर्णता र सफलता दुवै समीप आउँछन् किनकि एक-अर्कालाई सत्कार दिनु नै भविष्यको अधिकार लिनु हो।