| 21-11-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– विचार सागर मन्थन गरेर सर्भिसका भिन्न-भिन्न युक्तिहरू निकाल , जसबाट सबैलाई बाबाको परिचय मिलोस्।” | |
| प्रश्न:– | बाबाले हरेक बच्चालाई उच्च तकदिर बनाउने युक्ति कुनचाहिँ बताउनुहुन्छ? |
| उत्तर:– | आफ्नो उच्च तकदिर बनाउनु छ भने भित्रबाट सबै फोहोरी नराम्रा बानीहरू निकालिदेऊ। झुट बोल्नु, रिसाउनु– यी धेरै खराब बानीहरू हुन्। सर्भिसको सोख राख। जसरी बाबाले निरहङ्कारी बनेर सेवा गर्नुहुन्छ, यसरी नै जति सकिन्छ अरूको कल्याणको निम्ति रुहानी सेवामा बिजी रहने गर। |
| गीत:– | मरना तेरी गली में... |
ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूले पहिला सुरुमा यो पोइन्ट बुझ्नु र बुझाउनु छ– बाबा को हुनुहुन्छ? बच्चाहरूलाई अतीन्द्रिय सुख तब अनुभव हुन्छ जब निश्चय गर्छन्– म बेहदका बाबाको सन्तान हुँ। बस्, यस एउटै कुराले खुसीको पारा चढ्छ। यो हो स्थायी खुसीको पोइन्ट। तिमीलाई थाहा छ– हामीले आफूलाई ब्रह्माकुमार-कुमारी भन्छौँ। यो हो नयाँ रचना। त्यसैले पहिला सबैले निश्चय गरुन्– उहाँ हाम्रा बाबा हुनुहुन्छ। बाबाको तल फेरि छन् विष्णु (त्रिमूर्तिको चित्रमा)। बाबाबाट विष्णुपुरीको वर्सा मिल्छ भने कति खुसी हुनुपर्छ। यो निश्चय गराएर फेरि लेखाउनुपर्छ। विष्णुको अर्थ वैष्णव पनि निकाल्छन्। यहाँका मानिसहरूलाई राम्रोसँग थाहा छ, यी देवी-देवताहरू निर्विकारी थिए। स्वर्गमा यिनीहरूको पवित्र प्रवृत्ति मार्ग थियो। गाउँछन् पनि– हजुर हुनुहुन्छ सम्पूर्ण निर्विकारी, हामी विकारी। सत्ययुगमा सम्पूर्ण निर्विकारी हुन्छन्। कलियुगमा सम्पूर्ण विकारी छन्। विकारीलाई पतित, भ्रष्टाचारी भनिन्छ। क्रोधीलाई पतित, भ्रष्टाचारी भनिँदैन। क्रोध त संन्यासीहरूमा पनि हुन्छ। त्यसैले पहिला सुरुमा परिचय दिनु छ बाबाको। उच्चभन्दा उच्च बाबा जब भारतभूमिमा आउनुहुन्छ, तब यो महाभारी लडाइँ पनि अवश्य लाग्छ किनकि परमात्मा आएर पतित दुनियाँबाट पावन दुनियाँमा लैजानुहुन्छ। शरीरहरूको त विनाश हुनु छ। मलाई बाबाले पढाउनुहुन्छ भन्ने निश्चय हुनुपर्छ, त्यसैले कति नियमित हुनुपर्छ। यहाँ छात्रावास छैन। छात्रावास बनायौँ भने त फेरि धेरै भवन चाहिन्छ। ७ दिन, ४ दिनको लागि आउँदा पनि धेरै भवन चाहिन्छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर केवल बाबालाई याद गर। बस्, बाबा नै पतित-पावन हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। म ग्यारेन्टी गर्छु, तिम्रा सबै पाप भस्म हुनेछन्। पहिला त अवश्य म शिवबाबाको सन्तान हुँ, फेरि विश्वको मालिकपनको हकदार बन्छु, यो लेखाउनुपर्छ। राजा-रानी, प्रजा सबै विश्वका मालिक हुन्। मेला, प्रदर्शनीमा जति पनि सम्झाउनेहरू छन्, उनीहरूलाई बाबाले निर्देशन दिनुहुन्छ– मूल कुरा सम्झाउनु छ, उच्चभन्दा उच्च भगवान एक मात्र हुनुहुन्छ। उहाँ नै ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। ज्ञानका सागर हुनुहुन्छ भने अवश्य निर्देशन पनि उहाँले नै दिनुहुन्छ। श्रीकृष्णले त दिन सक्दैनन्। शिवबाबा बाहेक अरू कोही भगवान हुनुहुन्न। ब्रह्मा, विष्णु, शङ्कर पनि देवताहरू हुन्। स्वर्गमा हुन्छन् दैवीगुण भएका मानिसहरू, यहाँ कलियुगमा छन् आसुरी गुण भएका मानिसहरू। यो पनि पछि सम्झाउनु छ। पहिला सुरुमा त बाबाको परिचय दिएर सही गराउनुपर्छ। विचार सागर मन्थन गरेर भिन्न-भिन्न युक्तिहरू निकाल्नुपर्छ र बाबालाई बताउनुपर्छ– बाबा यस प्रकारको प्रश्न सोध्छन्, यस प्रकार मैले सम्झाएँ। फेरि बाबाले पनि यस्तो पोइन्ट सुनाउनुहुनेछ जसले गर्दा उनीहरूलाई असर परोस्। बाबालाई सर्वव्यापी अथवा कच्छ-मच्छ अवतार भन्नु यो पनि ग्लानि हो, त्यसैले बाबाको परिचय दिनु छ। बाबाले नै विश्वको मालिक बनाउनुहुन्छ। यी लक्ष्मी-नारायण विश्वका मालिक, सतोप्रधान थिए। फेरि पुनर्जन्म लिँदा-लिँदै तमोप्रधान बनेका छन्। फेरि बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने सतोप्रधान बन्नेछौ। जुनसुकै धर्मका होऊन्, बाबाको सन्देश सबैको लागि हो। उहाँलाई भनिन्छ गड फादर मुक्तिदाता। मुक्त गर्न अवश्य पतित दुनियाँमा आउनुहुन्छ। कलियुगको अन्तमा सारा दुनियाँ नै तमोप्रधान छ, जब सतोप्रधान बन्छन् तब नयाँ दुनियाँमा जान सक्छन्। बाँकी जो त्यहाँ आउँदैनन्, उनीहरू शान्तिधाममा रहन्छन्। यो बुद्धिमा बसाल्नु छ, जसले गर्दा बुझून्– मैले उहाँ बाबालाई याद गर्नु छ। कुनै देहधारीलाई याद गर्नु छैन। बाबा हुनुहुन्छ नै विदेही, विचित्र र अरू सबैका चित्र भिन्न-भिन्न छन्। कसैलाई सम्झाउने सोख रहनुपर्छ। प्रदर्शनीमा धेरै मानिसहरू आउँछन्। सेन्टरमा यति आउँदैनन्। सर्भिसमा रहनाले बच्चाहरूलाई धेरै उल्लास रहन्छ। यहाँ बाबालाई घरि-घरि भुल्छन्। सर्भिसमा रहे भने यादको यात्रा भुल्दैनन्। स्वयं याद गर्छन्, अरूलाई पनि याद गराउँछन्। तिमी बच्चाहरूले पढिरहेका छौ। तिम्रो बुद्धिमा छ– मैले राजाइ अवश्य लिनेछु। यो याद रहनाले पनि खुसी रहन्छ। भुल्नाले घबराहट आउँछ।
बाबालाई लेख्नुपर्छ– बाबा म अतीन्द्रिय सुखमा छु। बाँकी थोरै समय छ, हामी जान्छौँ आफ्नो सुखधाम। ६३ जन्म हामी धेरै बिरामी रह्यौँ। कुनै औषधि भएन, तब नासुर बन्यो। कसैको सम्हाल मिल्न सकेन, रोगले भित्र घर बनायो। यो रोग यस्तो छ जुन अविनाशी सर्जन बाहेक कहिल्यै छुट्न सक्दैन। अहिले सबैको छुट्ने टाइम हो। पवित्र बनेर मुक्तिधाममा जानेछन्। कसैले मुक्तिमा रहनु राम्रो हो भन्छन्। पार्ट नै छैन। जस्तै नाटकमा कसैले थोरै पार्ट गर्यो भने उसलाई हिरो, नायिका अथवा उच्च पार्टधारी भनिँदैन। बाबा सम्झाउनुहुन्छ– जति सकिन्छ बाबालाई याद गर, तब पक्का बन। याद भुल्नु हुँदैन। मुख्य हुनुहुन्छ एक बाबा। बाँकी यी साना-साना चित्र हुन्– सम्झाउनको लागि, यिनबाट शिव-शङ्कर एक होइनन् भनी सिद्ध गर्नु छ। बाँकी सूक्ष्मवतनमा कुनै कुरा हुँदैन। अहिले तिमीले बुझेका छौ– यो सबै हो भक्तिमार्ग, ज्ञान दिने हुनुहुन्छ एक बाबा। उहाँले सङ्गममा दिनुहुन्छ, यो पक्का गर। तिमीहरूलाई त कल्प-कल्प स्वर्गको वर्सा मिल्छ नै। ५ हजार वर्षको कुरा हो। उनीहरूले फेरि लाखौँ वर्ष भनिदिन्छन्। उनीहरूले केवल कलियुग लाखौँ वर्षको हो भन्छन् जबकि हामीले यो सारा चक्र नै ५ हजार वर्षको हो भन्छौँ। गफ कति ठुलो हाँकेका छन्। हे पतित-पावन भनेर बोलाउँछन्। श्रीकृष्णलाई पतित-पावन त भनिँदैन। जुनसुकै धर्मको व्यक्तिले पनि श्रीकृष्णलाई मुक्तिदाता भन्दैन। हे पतित-पावन भनेर पुकार्छन्, तब बुद्धि माथि जान्छ तैपनि बुझ्दैनन्। मायाको कति अन्धकार छ, गफलतमा परेका छन्। शास्त्र अनादि हुन् भन्छन्। तर सत्ययुग, त्रेतामा यी हुँदैनन्। यो पढाइ यस्तो छ जुन बिरामी हुँदा पनि क्लासमा बसेर पढ्न सक्छन्। यहाँ बहाना चल्न सक्दैन। गाई धेरै असल हुन्छ, कुनैले त लात पनि हान्छ। यहाँ पनि जसमा क्रोध छ, उसले अहङ्कारवश लात पनि हान्छ। बदनाम गरिदिन्छन्। कुनै पनि अवगुण हुनु हुँदैन। तर कर्मबन्धन यस्तो छ जसले उच्च पद पाउन दिँदैन। बाबाले उच्च तकदिर बनाउने मार्ग बताउनुहुन्छ। तर कसैले बनाउँदैनन् भने बाबाले के गर्नु, धेरै ठुलो कमाइ छ। कमाइको नसा रहनुपर्छ। कमाइ गरेनौ भने परिणाम के हुनेछ? कल्प-कल्प यस्तै हाल हुनेछ। बाबाले त सबैलाई सावधानी दिनुहुन्छ, इन्सल्ट गर्नुहुन्न। बच्चाहरूमा कुनै फोहोरी बानी हुनु हुँदैन। झुट बोल्नु बडो खराब हो। यज्ञको सर्भिस खुसीले गर्नुपर्छ। बाबाको समीप आउँछन्, तब बाबाले सर्भिस गर भनी इसारा गर्नुहुन्छ। जसले तिमीलाई खुवाउँछन्, उनीहरूको सर्भिस अवश्य गर्नुपर्छ। सेवा गर्न बाबाले सिकाउनुहुन्छ। हेर, उच्चभन्दा उच्च बाबाले पनि कति सेवा गर्नुहुन्छ। जुन काम अज्ञानमा गरेनौ, त्यो पनि गर्नुपर्छ। यति निरहङ्कारी बन्नु छ। काइदाको विरुद्ध कुनै काम गर्नु छैन। जति सकिन्छ अरूको कल्याणको निम्ति सबैथोक हातले गर्नुपर्छ। लाचारी अवस्थामा केही गराइयो, त्यो अर्को कुरा हो। आफूलाई निरहङ्कारी, निर्मोही बनाउनु छ। बाबाको याद बिना कसैको कल्याण हुन सक्दैन। जति याद गर्छौ, त्यति पावन बन्नेछौ। यादमा नै विघ्न पर्छन्। ज्ञानमा यति विघ्न पर्दैनन्, ज्ञानका त अनेक पोइन्ट छन्। बाबालाई याद गर्नाले सुगन्धित फूल बन्नेछौ। कम याद गर्यौ भने रतनजोत बन्नेछौ। आँकका पनि फूल हुन्छन्। त्यसैले आफूलाई सुगन्धित फूल बनाउनुपर्छ। कुनै दुर्गन्ध हुनु हुँदैन। आत्मा सुगन्धित बन्नु छ। यति सानो बिन्दीमा सारा ज्ञान भरिएको छ, अचम्म छ। सृष्टि एउटै छ, माथि वा तल सृष्टि छैन। त्रिमूर्तिको अर्थ पनि तिमीलाई थाहा छ। उनीहरूले केवल त्रिमूर्ति मार्ग नाम राखिदिएका छन्। कसैले ब्रह्मालाई त्रिमूर्ति भनिदिन्छन्। उनीहरूको जीवनकथाको बारेमा केही थाहा छैन। शास्त्रहरूमा छ श्रेष्ठाचारी मानिसहरूको जीवनकथा। लक्ष्मी-नारायण, राधे-कृष्ण आदि हुन् त सबै मानिस। तर अरूको जीवनकथालाई शास्त्र भनिँदैन। देवताहरूको जीवनकथालाई शास्त्र भनिन्छ। बाँकी शिवबाबाको जीवनकथा कहाँ छ? उहाँ त निराकार हुनुहुन्छ। स्वयं भन्नुहुन्छ– म त पतित-पावन हुँ, मलाई सबैले फादर भनेर बोलाउँछन्। म आएर स्वर्गको स्थापना गर्छु। भारतवर्ष ५ हजार वर्ष पहिला स्वर्ग थियो। अब फेरि बन्नु छ। कति सहज छ। तर पत्थरबुद्धि यस्ता छन् जसको ताला खुल्दै खुल्दैन। ज्ञान र योगको ताला बन्द छ।
बाबा भन्नुहुन्छ– घर-घरमा सन्देश देऊ, उच्चभन्दा उच्च हुनुहुन्छ बाबा। पहिलो तला मूलवतन, दोस्रो तला सूक्ष्मवतन। तेस्रो तला हो यो साकारी दुनियाँ। यदि यी तलाहरूको पनि बच्चाहरूलाई याद रह्यो भने पहिला बाबा अवश्य याद आउँछ। सर्भिसको लागि दौडिनुपर्छ। बाबाले कतै पनि जान मनाही गर्नुहुन्न। चाहे विवाहमा जाऊ, तीर्थहरूमा जाऊ, सर्भिस गर्न जाऊ। भाषण गर– भन, एक हो रुहानी यात्रा, अर्को हो शारीरिक यात्रा। पोइन्ट त धेरै मिलिरहन्छन्। वानप्रस्थीहरूको झुण्डमा गएर सर्भिस गर। उनीहरूको पनि सुन– ती मानिसहरूले के भन्छन्। हातमा पर्चा होस्। मुख्य ४-५ कुरा लेखिएका होऊन्– ईश्वर सर्वव्यापी होइनन्, गीताका भगवान श्रीकृष्ण होइनन्, यो स्पष्ट लेखिदेऊ। जोसुकैले पढे पनि यो त सत्य हो भनी बुझोस्, यसमा चतुर्याइँ धेरै चाहिन्छ। बाबाले त्रिमूर्तिको बारेमा पनि सम्झाउनुहुन्छ। यो घरि-घरि खल्तीबाट निकालेर हेरिराख। कसैलाई पनि सम्झाऊ– यो बाबा, यो वर्सा। विष्णुको चित्र पनि राम्रो छ। ट्रेनमा पनि सर्भिस गर्न सक्छौ– बाबालाई याद गर्नुहोस्, तब विश्वको मालिक बन्नुहुनेछ। सर्भिस धेरै हुन सक्छ। तर कसैलाई अक्कल आउँदैन। धेरै पुरुषार्थ गर्नु छ। लडाइँको मैदानमा सुस्त हुन्छन् र? धेरै होसियारी राख्नु छ। मन्दिरहरूमा धेरै सर्भिस हुन सक्छ। बस्, बाबा भन्नुहुन्छ– मन्मनाभव। तमोप्रधानबाट सतोप्रधान बन। मुख्य कुरा पक्का गराइदिनुपर्छ। बच्चाहरूलाई सर्भिसको धेरै ख्याल हुनुपर्छ। त्रिमूर्तिको चित्रमा सारा ज्ञान भरिएको छ। सिँढी पनि राम्रो छ। हरेकले धन कमाउने आफ्नो उन्नति चाहन्छन्। साना बच्चाहरूलाई पनि युक्तिहरू सिकाऊ, सबैले स्याबासी दिनेछन्– कमाल छ ब्रह्माकुमार-कुमारीहरूको, साना बच्चाहरूले पनि यति ज्ञान दिन्छन् जुन कुनै संन्यासी आदिले दिन सक्दैनन्। सित्तैमा चिज मिल्छ तब सम्झनेछन्– यिनीहरूले हाम्रो कल्याणको लागि दिन्छन्। भन– यो फ्री हो। तपाईं चाहे पढ्नुहोस्, यसबाट आफ्नो कल्याण गर्नुहोस्। शिवबाबा भोला भण्डारी हुनुहुन्छ नि। धेरै बच्चाहरू छन्। बाबालाई पैसाको के आवश्यकता छ? ट्रेनमा पनि तिमीले धेरै सर्भिस गर्न सक्छौ। मानिस असल देख्यौ भने झट्टै उसलाई सम्झाएर चित्र दिनुपर्छ। भन– तपाईंले आफ्नो पनि कल्याण गर्नुहोस् र अरूको पनि कल्याण गर्नुहोला। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) कुनै पनि काम काइदाको विरुद्ध गर्नु छैन। अति निरहङ्कारी, निर्मोही रहनु छ। जति सकिन्छ हरेक कार्य आफ्नै हातले गर्नु छ। यज्ञको सर्भिस धेरै खुसीले गर्नु छ।
२) पढाइमा कहिल्यै बहाना बनाउनु हुँदैन। बिरामी हुँदा पनि पढ्नु अवश्य छ। उल्लासमा रहनको लागि सर्भिसको सोख राख्नु छ।
| वरदान:– |
सदा स्वमानमा स्थित रहेर निर्माण स्थितिद्वारा सर्वलाई सम्मान दिने माननीय , पूजनीय भव जुन बाबाको महिमा छ त्यही तिम्रो स्वमान हो, स्वमानमा स्थित भयौ भने निर्मान बन्नेछौ, फेरि सर्वद्वारा स्वतः नै मान मिलिरहनेछ। मान माग्नाले मिल्दैन तर सम्मान दिनाले, स्वमानमा स्थित हुनाले, मानको त्याग गर्नाले सर्वको माननीय वा पूजनीय बन्ने भाग्य प्राप्त हुन्छ किनकि सम्मान दिनु, दिनु होइन लिनु हो। |
| स्लोगन:– | जाननहारको साथ करनहार बनेर असमर्थ आत्माहरूलाई अनुभूतिको प्रसाद बाँड्दै जाऊ। |
अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
कुनै पनि प्रकारको देहको, सम्बन्धको, वैभवहरूको बन्धनले आफ्नो तर्फ आकर्षित नगरोस्, यस्तो स्वतन्त्र आत्माले नै बाबा समान कर्मातीत स्थिति वा सम्पन्न स्थितिको अनुभव गर्छ। यसको लागि अभ्यास गर– अहिले कर्मयोगी, अहिले कर्मातीत स्टेज। कुनै पनि कर्मले आफ्नो बन्धनमा नबाँधोस्।