नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 अप्रिल 26

ओम शान्ति · BapDada · 2026 अप्रिल 26

आजको मुरली — हरेक बिहान नयाँ।

18
डाउनलोड PDF
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

26-04-2026
ओम् शान्ति
“अव्यक्त बापदादा”
रिभाइज
31/12/2009

“ नयाँ वर्षमा सबै आत्माहरूलाई सन्देश दिएर स्वर्णिम विश्व को उपहार देऊ , बाबा समान बन्नको लागि देही - अभिमानी रहने स्वाभाविक स्वभाव बनाऊ।”

आज बापदादाले हरेक बच्चालाई स्नेह र बापदादाको प्यारमा लवलीन स्वरूपमा देखिरहनुभएको छ। एक एक बच्चा परमात्म प्यारमा चम्किरहेका छन्। सबै बच्चाहरू प्यारको विमानमा आइपुगेका छन्। हुन त नयाँ वर्ष मनाउनको लागि आएका हौ तर सबैको नयनमा के देखिइरहेको छ? न्यु इयर, नयाँ वर्ष त निमित्त मात्र हो तर तिमीहरू सबैको नयनमा के उमङ्ग छ? तीन बधाई दिइरहेका छौ। एक आफ्नो नयाँ जीवनको बधाई, दोस्रो नयाँ युगको बधाई अनि तेस्रो परिवार र बाबासँग मिलनको बधाई। तिम्रो नयनमा के घुमिरहेको छ? आफ्नो नवयुग सामुन्ने आइरहेको छ नि! दिलमा उमङ्ग आइरहेको छ, नयाँ युग आइ नै हाल्छ। नयाँ युगको चम्किलो ड्रेस यति सामुन्ने स्पष्ट छ, आज सङ्गमयुगमा छौँ र तुरुन्तै यो चम्किलो ड्रेस लगाउनु छ। सामुन्ने हेर्दाहेर्दै खुसी भइरहेका छौ। बिदाइ पनि दिइरहेका छौ र बधाई पनि लिइरहेका छौ। जसरी पुरानो वर्षलाई बिदाइ दिन्छौ फेरि त्यो वर्ष भुलिन्छ, नयाँ वर्ष नै सामुन्ने आउँछ। त्यसरी नै तिम्रो सामुन्ने पुरानो दुनियाँलाई बधाई होइन, बरु नयाँ दुनियाँलाई बधाई दिइरहेका छौ। पुरानो दुनियाँलाई बिदाइ दिइरहेका छौ। आज सबैलाई उमङ्ग-उत्साह छ नयाँ युगको, मानिसहरूले पनि नयाँ वर्षको बधाई दिन्छन् र साथसाथै उपहार पनि दिन्छन्। बापदादाले पनि तिमी बच्चाहरूलाई पुरानो स्वभाव संस्कारलाई बिदाइ दिएर नयाँ दुनियाँमा जाने उपहार दिइरहनुभएको छ, जुन नयाँ दुनियाँमा प्राप्ति नै प्राप्ति छ। संक्षेपमा यही भनौँ– अप्राप्त छैन कुनै वस्तु नयाँ दुनियाँमा। यस्तो स्वर्णिम विश्वको उपहार बापदादाले तिमी हरेक बच्चालाई दिनुभएको छ। तिमीलाई पनि नसा छ नि, हामी स्वर्णिम विश्वको अधिकारी बनिरहेका छौँ। यस्तो उपहार अरू कसैले दिन सक्दैनन्। बाबाले हरेक बच्चालाई यो निर्देशन दिनुभएको छ, सबै आत्माहरूलाई यो बाबाको वर्सा स्वर्णिम विश्वको सन्देश दिएर उनीहरूलाई पनि तिमीले उपहार देऊ। तिमीसँग कुन उपहार छ? एक त नयाँ दुनियाँको उपहार देऊ र अर्को तिमीसँग धेरै खजानाहरू छन्। गुणका खजाना, शक्तिका खजाना, स्वमानका खजाना, कति खजानाहरू छन्। त्यसैले सबैलाई कुनै न कुनै गुण, कुनै न कुनै शक्तिको उपहार देऊ, जुन उपहारबाट उनीहरूको जीवन परिवर्तन होस् र स्वर्णिम दुनियाँको अधिकारी बनुन् किनकि आजकाल देखिरहेका छौ चारैतिर दुःख अशान्ति बढिरहेको छ। चारैतिर हरेकमा भय र चिन्ता छ। यस्ता दुःखी अशान्त आत्माहरूलाई कमसेकम यो सन्देश अवश्य देऊ, अहिले बाबा आउनुभएको छ, अहिल्यैदेखि अविनाशी वर्साको अधिकारी बनौँ। यो सन्देश हरेक आत्मालाई दिइरहेका पनि छौ तर अझै पनि कति बाबाका बच्चाहरू सन्देशबाट वञ्चित रहेका छन्। फेरि पनि एक बाबाका बच्चा हुन् नि त्यसैले आफ्ना भाइबहिनीहरूलाई यो सन्देशको उपहार अवश्य देऊ। कोही पनि नछुटुन्। तिमीहरूले सेवा गरिरहेका छौ, बापदादा बच्चाहरूको सेवा देखेर खुसी हुनुहुन्छ तर बाबाको यही आशा छ, मेरो कुनै पनि बच्चा सन्देशबाट नछुटोस्। गुनासो नदेओस्– तपाईहरूलाई स्वर्णिम विश्वको उपहार मिल्यो तर हामीलाई थाहा भएन। हाम्रो बाबा आउनुभयो तर हामीलाई सन्देश मिलेन। त्यसैले यस नयाँ वर्षमा यही प्रयत्न गर, आपसमा प्लान बनाऊ, कुनै पनि कुना नछुटोस्। गुनासो नआओस्। खुसी हुन्, थाहा त होस्, हाम्रो बाबा आउनुभयो। वञ्चित नरहुन्। त्यसैले यस नयाँ वर्षमा के गर्नेछौ? आपसमा मिलेर प्लान बनाऊ, बापदादालाई हरेक बच्चामाथि रहम आउँछ। त्यसैले तिमीले पनि भाइबहिनीहरूमाथि अहिले विशेष रहमदिल, कल्याणकारी स्वरूप धारण गरेर सबैलाई सन्देश दिनु छ। कमसेकम यसरी त गुनासो नगरुन्।

आज सबै बच्चाहरू नयाँ वर्ष मनाउने उमङ्ग-उत्साहले आइपुगेका छन्। बापदादाले एक एक बच्चालाई देखेर कुन गीत गाउनुहुन्छ? जान्दछौ नि! वाह बच्चाहरू वाह! जो पहिलो पटक आएका छन् उनीहरूलाई पनि बापदादाले भनिरहनुभएको छ, भाग्यमानी छौ जो समय समाप्त हुनुभन्दा पहिला बाबाको बन्यौ। नयाँ बच्चाहरूलाई बापदादाले भाग्यमानी बनेकोमा पदम पदमगुणा बधाई दिइरहनुभएको छ। आजकाल बापदादाले एउटा कुरा सबै बच्चाहरूमा देख्न चाहनुहुन्छ, जान्दछौ कुन कुरा? जसरी हरेकको दिलमा उमङ्ग छ, लक्ष्य छ, हामी बाबा समान बन्ने नै छौँ, बन्नेछौँ होइन, बन्ने नै छौँ। जस्तो लक्ष्य छ, त्यस्तै अहिले बापदादाले लक्ष्यको साथै लक्षण पनि देख्न चाहनुहुन्छ। जसरी समान बन्ने लक्ष्य छ त्यसरी नै समान बन्ने लक्षण पनि होस्। अहिले यो लक्ष्य धेरै उच्च छ तर लक्षणमा विशेष अटेन्सन दिनु छ। समान बन्नुछ, जति ठुलो लक्ष्य त्यति नै ठुलो लक्षण होस्। अहिले कुनै कुनै बच्चाहरूले लक्षण धारण गर्न चाहन्छन् तर बीच बीचमा फेरि पनि भनिदिन्छन्, चाहन्छौँ धेरै तर... त्यसैले यो तर निस्कियोस्। तिम्रो चालचलन र चेहरा टाढाबाटै जति ठुलो लक्ष्य छ, त्यति लक्षण चेहराबाट देखियोस्, चालचलनबाट देखियोस्। जसरी तिमी पहिला देह अभिमानमा थियौ तर देह अभिमानमा हुँदा देह अभिमानको स्वाभाविक स्वभाव थियो, कहिले पुरुषार्थ गरेका थियौ र, देह अभिमान आयो? देह अभिमान स्वाभाविक स्वभाव बन्यो। आधाकल्प पुरुषार्थ गरेनौ, त्यसरी नै अब देहीअभिमानी बन्ने स्वाभाविक स्वभाव होस्! देह अभिमानको स्वाभाविक स्वभाव भयो, यो कहिल्यै याद आउँछ, देह अभिमानमा आऊँ, यो पुरुषार्थ गरेका छौ? अहिले पनि देह अभिमान र देहीअभिमान, त्यसैले देहीअभिमानी बन्नमा पनि मेहनत किन! किनकि बापदादाकहाँ समाचार आउँछ, कहिलेकाहीँ देह अभिमानलाई मेटाउने मेहनत गर्नुपर्छ। देह अभिमान स्वाभाविक भयो भने देहीअभिमान बन्नमा मेहनत किन? बापदादालाई बच्चाहरूको मेहनत राम्रो लाग्दैन। मेहनतमुक्त बन र स्वाभाविक देही-अभिमानी स्वभाव बनोस्, यसलाई भनिन्छ लक्ष्य र लक्षण समान। फेरि तिमीले हेर बाबा समान बन्न धेरै सहज र स्वाभाविक लाग्नेछ। जसरी ब्रह्मा बाबालाई देख्यौ यति ठुलो परिवारको जिम्मेवारी हुँदा पनि स्वाभाविक देहीअभिमानी स्वभाव रह्यो। हुन त बच्चाहरूमाथि पनि जिम्मेवारी छ तर ब्रह्मा बाबाको अगाडि त्यो जिम्मेवारी केही हो जस्तो लाग्छ र! कुनै पनि जिम्मेवारी छ, मानौँ जोनको जिम्मेवारी छ, वा कुनै अफिसियल यज्ञ कारोबारको जिम्मेवारी छ तर त्यो जिम्मेवारी ब्रह्मा बाबाको अगाडि के हो र! ब्रह्मा बाबाले शिवबाबाको मद्दतबाट प्राक्टिकलमा देखाउनुभयो, करावनहारले गराइरहनुभएको छ, हामी करनहार बनेर बाबा समान न्यारा र प्यारा छौँ। त्यसैले बाबा समान बन्न चाहन्छौ भने यो चेक गर– केही पनि चाहे मनसा, चाहे वाचा, चाहे कर्मणा कर्तव्यहरू त छन् तर म करनहार हुँ, ट्रस्टी हुँ, करावनहार मालिक शिवबाबा हुनुहुन्छ, यो करावनहारको पार्ट चल्दाचल्दै भुलिन्छ। त्यसैले लक्ष्य र लक्षण दुवैलाई समान बनाउनु छ। अब पुरानो वर्षलाई बिदाइ दिनुको साथै यस लक्ष्यलाई लक्षणमा ल्याउनु छ। नयाँ वर्षमा त नयाँ कुरा हुन्छन्। के गरौँ, माया आउँछ, चाहँदैनौँ तर आउँछ... यो शब्द वा सङ्कल्प पुरानो वर्षको साथै यसलाई पनि बिदाइ देऊ। केवल वर्षलाई बिदाइ नदेऊ। बापदादाले सुनाउनुभएको थियो, माया पनि बापदादाकहाँ आउँछ, र के भन्छ? मैले त जान्दछु, मेरो जाने समय हो तर कुनै कुनै बच्चाहरूले मेरो आह्वान गर्छन् भने मैले के गरौँ। त्यसैले आज बिदाइको साथै मायाका भिन्न भिन्न रूपलाई पनि बिदाइ दिनु छ। छ हिम्मत? हिम्मत छ? हात उठाऊ। बिदाइ दिने हिम्मत छ? पछाडि बस्नेहरूको हिम्मत छ? जसमा हिम्मत छ, उनले हात उठाऊ। बाबाले यस हिम्मतको धेरै पदम पदमगुणा बधाई दिनुहुन्छ। किन? किन बापदादाले यसमा जोड दिइरहनुभएको छ? किनकि तिमीहरू सबैले देखिरहेका छौ दुनियाँको हालत तीव्र रूपले बिग्रन सुरु भइरहेको छ र बापदादाको यो महावाक्य केही समयदेखि चलिरहेको छ, अचानक हुनेछ। अचानक हुनेछ र यदि धेरै समयको अभ्यास भएन भने बताऊ अचानकको समयमा अभ्यासको आवश्यकता छ नि! भर्खरै हेर बापदादाले होमवर्क दिनुभयो, १० मिनेट, टोटल २४ पटक १०-१० मिनेटको होमवर्क दिनुभयो तर कति बच्चाहरूलाई गाह्रो भइरहेको छ। त्यसैले सोच, यदि १० मिनेट अभ्यास हुन सक्दैन भने अचानकमा त्यस समयमा के गर्नेछौ? बापदादाले जान्नुहुन्छ, २४ पटकमा कतिलाई समय केही कम मिल्छ, तर बापदादाले ट्रायल गर्नुभयो, १० मिनेट एउटै स्मृतिमा जब चाहन्छौ, जसरी चाहन्छौ त्यसरी रहन सक्छौ, बापदादाले यो भन्नुहुन्न अहिल्यै १० मिनेट अभ्यास गर, अच्छा गर्न सक्दैनौ, जसले गर्न सक्छ उनले गरून्, यदि गर्न सक्दैनन् भने ५ मिनेट गर, ५ मिनेटबाट ६ मिनेट, ७ मिनेट, जति पनि बढाउन सक्छौ त्यति ट्रायल गर। बापदादा स्वयंले नै भनिरहनुभएको छ यसमा यस्तो कुरा छैन। यदि १० मिनेट टाइम बढी लाग्छ भने ठिकै छ ८ मिनेट गर, ९ मिनेट गर, जति बढी गर्न सक्छौ त्यति अभ्यास गर्ने बानी बसाल किनकि धेरैकालको वरदान प्राक्टिकलमा अहिले अभ्यास गर्न सक्छौ। यदि अहिले धेरैकालको अभ्यास भएन भने अहिलेको धेरैकालको पुरुषार्थको जुन प्राप्ति छ, आधाकल्पको त्यस धेरैकालमा फरक पर्नेछ। त्यसैले जति हुनसक्छ त्यति बापदादाले छुट दिनुभएको छ, ५ मिनेटभन्दा बढी गर, १० मिनेट हुन सक्दैन भने ७ मिनेट गर, ८ मिनेट गर, ५ मिनेट पनि छुट छ। तर यदि कुनै पनि समयमा १० मिनेट भयो भने राम्रो। यस्तो समय आउनेछ जब तिमीहरूले स्वयं आफ्नो लागि र विश्वको लागि पनि शुभभावनाका किरणहरू दिनुपर्नेछ। त्यसैले बापदादाले छुट दिनुहुन्छ, जति बढी समय अभ्यास गर्न सक्छौ, त्यति गर किनकि अहिलेको धेरै समय भविष्यको आधार हो। ठीक छ? कठिन लाग्छ, कुनै कुरा छैन, अहिले त कुनै हर्जा छैन र बाबालाई सुनायौ यो धेरै राम्रो गरेका छौ किनकि मानौँ १० मिनेट बस्न सक्दैनौ, सोचमा नै गयो भने ५ मिनेट पनि गयो, त्यसैले बापदादा भन्नुहुन्छ कमसेकम ५ मिनेटभन्दा कम नगर्नु। जति बढाउन सक्छौ त्यति बढाऊ। ठीक छ, स्पष्ट भयो? किनकि बापदादाले हरेकलाई धेरै श्रेष्ठ स्वरूपमा देख्नुहुन्छ। बापदादाले यसको निसानी हरेक बच्चालाई कति स्वमान दिनुभएको छ। स्वमानको लिस्ट निकाल्यौ भने कति लामो हुन्छ?

आज बापदादा अमृतवेला चक्कर लगाउन जानुभयो। के हेर्न जानुभयो? बापदादाले स्वमानहरूको धेरै ठुलो माला दिनुभएको छ। यदि एक एक स्वमानमा स्थित भएर त्यस स्थितिमा बस्यौ, चल्यौ भने स्वमान भन्दै गयौ र माला घुमाउँदै गयौ भने बडो मजा आउनेछ। स्वमानको लिस्ट राखेका छौ तर एक एक स्वमान कति ठुलो छ र कसले दिनुभएको हो! विश्व सर्वशक्तिमान अधिकारी बाबाले एक एक बच्चालाई अनेक स्वमानहरूको लिस्ट दिनुभएको छ। त्यसलाई प्रयोग गर किनकि अरू कुनै अधिकारी छैन जसले तिम्रो यस स्वमानलाई घटाउन सकोस्। अरू कसैलाई पनि यति स्वमानहरूको माला मिलेको छैन। त्यसैले बापदादाले देख्नुभयो सत्ययुगमा त राज्य भाग्य मिल्नेछ तर यो स्वमानको माला सङ्गमयुगको देन हो। बापदादाले जहिले पनि बच्चाहरूलाई देख्दा हरेक बच्चालाई स्वमानको स्थितिबाट हेर्नुहुन्छ– वाह बच्चा वाह! त्यसैले स्वमानको अधिकारी बन, म को हुँ! कहिले कुन स्वमान सामुन्ने राख, कहिले कुन स्वमान सामुन्ने राख र चेक गर, आज अमृतवेला जुन विशेष स्वमान बुद्धिमा राख्यौ, त्यसको प्रयोग भयो! त्यो स्वमान खजाना हो नि किनकि खजाना बढ्ने साधन हो– जति खजानालाई कार्यमा लगाउँछौ त्यति खजाना बढ्छ। त्यसैले आज बापदादाले देखिरहनुभएको थियो कुन कुन बच्चा छन्, कोसँग स्वमानको स्मृतिको माला लामो थियो, कोसँग सानो माला थियो। जहाँ स्वमान हुन्छ त्यहाँ देहभान समाप्त हुन्छ। आज बापदादाले चक्कर लगाउनुभयो र देख्नुभयो जसरी स्वमानको खजाना छ, त्यस्तै एक एक शक्ति, एक एक गुणलाई प्रयोग गर, कार्यमा लगाऊ। यो जुन समस्या हुन्छ माया आयो, माया आउँदैन तर मायाको लागि त बाबाले सुनाइदिनुभएको छ, मायाले भन्छ– मलाई आह्वान गर्छन् अनि जान्छु, यत्तिकै जान्न, कुनै पनि सामान्य सङ्कल्प गर्नु अर्थात् मायालाई आह्वान गर्नु, शक्तिहरूलाई छोड्यौ भने मायालाई आह्वान गरिदियौ। चाहँदैनौँ तर आउँछ। बलवान को हो? चाहँदैनौँ तर आउँछ, भने माया बलवान भयो कि तिमी? आज पुरानो वर्ष समाप्त भइरहेको छ, नयाँ वर्षमा नयाँ उमङ्ग, नयाँ उत्साह ल्याऊ किनकि सङ्गमयुगको गायन छ, एक एक दिनमा उत्साह भरिएको होस् अर्थात् उत्सव होस्। उमङ्ग-उत्साह छ भने हरेक दिन उत्सव हो त्यसैले पक्का निश्चय राख्नुछ, दिनहुँ हिँड्दाडुल्दा पनि चार्ट हेर्नुछ। चेक गर्नु छ, चेक गर्छौ भने चेन्ज गर्छौ नि। चेक नै गर्दैनौ भने चेन्ज कसरी गर्छौ! आज नयाँ वर्षको लागि बापदादाको विशेष यही सङ्कल्प छ, हरेक बच्चाले जसरी पुरानो वर्षलाई बिदाइ दिन्छौ त्यसरी नै मायालाई पनि बिदाइ देऊ। व्यर्थ सङ्कल्पलाई बिदाइ देऊ किनकि धेरैजसोमा यही देखिएको छ, व्यर्थ सङ्कल्प बढी आउँछन्। विकारी सङ्कल्प कम छन्, तर व्यर्थ जुन छन्, त्यसको नामनिसानै समाप्त गर्नु छ, हरेक सङ्कल्प समर्थ बनाउनु छ, व्यर्थ हुनुछैन किनकि व्यर्थ सङ्कल्पमा, केवल सङ्कल्प चल्दैन तर व्यर्थ टाइम पनि जान्छ र बाबा समान बन्नमा दूरी बढ्छ। तिम्रो चाहना त छ समान बनौँ, त्यसैले हात त उठाएका छौ। तर बापदादाले सदा भन्नुहुन्छ, मनको हात उठाउनु, यो हात उठाउन त सजिलो छ। बिदाइ दिने हिम्मत छ? छ हिम्मत? हात उठाऊ। अच्छा, हिम्मतवान छौ। बस्, हिम्मतलाई कायम राख्नु। यदि हिम्मत छ भने जुन लक्ष्य राखेका छौ त्यो भइहाल्छ किनकि बापदादा पनि साथमै हुनुहुन्छ। बापदादा चाहनुहुन्छ, मेरो कुनै पनि बच्चा पछाडि नरहोस्। हातमा हात राखेर हिँडोस्। शिवबाबा निराकार हुनुहुन्छ, हात छैन तर श्रीमत नै उहाँको हात हो। कदम कदम श्रीमतमा चल्नु अर्थात् हातमा हात राखेर हिँड्नु। त्यसैले सबैलाई नयाँ वर्षको नव जीवनको र नव युगको तीनैको पदम पदमगुणा बधाई छ। अच्छा।

अहिले चारैतिरका देश विदेशका हरेक बाबाका प्यारा, बाबाका लाडला, बाबाका सिकिलधे बच्चाहरूलाई बिदाइ र बधाई छ। बापदादाले सुनाउनुभयो– पुरानो वर्षको साथै पुरानो संस्कारलाई पनि बिदाइ दिने महावीर बच्चाहरू, स्वभावलाई पनि बिदाइ दिने महावीर बच्चाहरू, हरेक पाइलामा पदमौँको कमाइ गर्ने, बापदादाले जुन सदा स्वमान दिनुहुन्छ, त्यस स्वमानको स्थितिमा स्थित भएर अनुभव गर्ने, हरेक बच्चालाई बापदादाले यस्तो रूपमा देख्नुहुन्छ, यो एक एक बच्चा २१ जन्मको वर्साको अधिकारी, सारा कल्पमा २१ जन्मको अधिकारी बन्ने वर्सा तिमी बच्चाहरूलाई नै मिल्छ। त्यसैले यस्ता श्रेष्ठ अधिकारी चारैतिरका बच्चाहरूलाई बापदादा, बाबा, शिक्षक र गुरुको रूपबाट तीनै रूपबाट यादप्यार एवं नमस्ते दिइरहनुभएको छ। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:– सेवा वा पुरुषार्थमा सफलता प्राप्त गर्ने डबल ताजधारी भव
सङ्गमयुगमा सदा स्वयंलाई डबल ताजधारी सम्झेर चल– एक लाइट अर्थात् प्युरिटीको ताज र अर्को- जिम्मेवारीको ताज। प्युरिटी र पावर– लाइट र माइटको श्रीपेच धारण गर्नेहरूमा डबल फोर्स सदा कायम हुन्छ। यस्ता डबल फोर्स भएका आत्माहरू सदा शक्तिशाली हुन्छन्। उनीहरूलाई सेवा वा पुरुषार्थमा सदा सफलता प्राप्त हुन्छ।
स्लोगन:– दिव्य गुणहरूको आधारमा मन, वचन र कर्मद्वारा सेवा गर्नु नै दिव्यता हो।

अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

कुनै पनि चिजलाई तताएर नरम बनाइन्छ, फेरि चाहे अनुसारको आकारमा परिवर्तन वा मोल्ड गरिन्छ। यहाँ पनि तताउने काम हो शक्तिरूप र नरम बनाउने उपाय हो निर्मानता अर्थात् स्नेहरूप। जसमा हरेक आत्माप्रति स्नेह हुन्छ उही नम्रचित्त रहन सक्छ। स्नेह छैन भने न रहमदिल बन्न सक्छन्, न नम्रचित्त। शक्ति रूपमा छ मालिकपन र नम्रतामा छ सेवाको गुण। त्यसैले यो नरम बनाउने काम र तताउने काम दुवै भएपछि हरेक कुरामा चाहे अनुसारको आकारमा परिवर्तन हुन सक्नेछन्।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।