नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 नोभेम्बर 25

ओम शान्ति · BapDada · 2026 नोभेम्बर 25

आजको मुरली — हरेक बिहान नयाँ।

18
मुरली2026 नोभेम्बर 25 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

25-11-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– शिवबाबाको बनेर कुनै पनि भूल नगर्नू , भूल गर्नाले बाबाको नाम बदनाम गर्नेछौ।”
प्रश्न:– सबैभन्दा ठुलो प्रवृत्ति कसको छ र कसरी?
उत्तर:– शिवबाबाको सबैभन्दा ठुलो प्रवृत्ति छ। भक्तिमा सबैले त्वमेव माता च पिता भनेर पुकार्छन्, त्यसैले प्रवृत्तिका हुनुभयो नि। तर जबसम्म उहाँ साकारमा आउनुहुन्न तबसम्म उहाँको कुनै प्रवृत्ति हुँदैन किनकि माथि त आत्माहरू बाबाको साथमा निराकारी रूपमा रहन्छन्। जब साकारमा आएर यिनमा प्रवेश गर्नुहुन्छ तब सबैभन्दा ठुलो प्रवृत्ति हुन्छ।

ओम् शान्ति। सारा दुनियाँले बेहदका बाबा निवृत्तिको हुनुहुन्छ कि प्रवृत्तिको हुनुहुन्छ भनी जान्दैनन्। जब बाबा आउनुहुन्छ, तब बच्चे-बच्चे भनेर बोलाउनुहुन्छ किनकि उहाँलाई पुकारिन्छ पनि– त्वमेव माता च पिता त्वमेव... त्यसैले गृहस्थी बन्नुहुन्छ। त्यहाँ त सबैलाई थाहा छ– शिव निराकार हुनुहुन्छ। चाहे शिवको आकार छ तर बाल-बच्चाहरू त छैनन्। यदि छन् भने पनि सबै आत्माहरू बच्चाहरू हुन्। सबै एकै समान बच्चाहरू हुन्, त्यसैले सबै परमात्मा हुन् भनी सम्झन्छन्। आत्मा पनि बिन्दी रूप छ, परमात्माको पनि बिन्दी रूप छ। गृहस्थी मानिसहरूले नै गाउँछन्– त्वमेव माता च पिता... निवृत्ति मार्गका संन्यासीहरूले परमात्मा ब्रह्म हो भनिदिन्छन्। उनीहरूले त्वमेव माता च पिता भन्दैनन्। उनीहरूको मार्ग अलग छ। यिनीहरूले पनि भूलले लक्ष्मी-नारायणको अगाडि गएर महिमा गाउँछन्– त्वमेव माता च पिता... वा भन्छन्– अच्युतम् केशवम्... भक्तिमार्गमा स्तुतिहरू त अथाह गाउँछन्। वास्तवमा परमात्मा बाबा हुनुहुन्छ, उहाँबाट वर्सा कसरी र के मिल्नु छ? तिमी बच्चाहरूलाई थाहा छ– उहाँ बाबा पनि हुनुहुन्छ, दादा पनि हुनुहुन्छ, बडी माँ पनि हुनुहुन्छ, प्रजापिता पनि हुनुहुन्छ। यिनद्वारा भन्नुहुन्छ– प्यारा बच्चाहरू, म तिम्रो बाबा पनि हुँ, फेरि मलाई पनि प्रवृत्ति मार्गमा आउनुपर्छ। यिनी मेरी युगल पनि हुन्, बच्चा पनि हुन्। जब यिनमा प्रवेश गर्छु तब प्रवृत्तिको बन्छु। मलाई नै सुप्रिम बाबा, सुप्रिम टिचर, सुप्रिम गुरु पनि भन्छन्। गुरुले मुक्तिको लागि मार्गदर्शन गर्छन्। त्यो त सबै झुट हो। यो सत्य हो। अङ्ग्रेजीमा परमात्मालाई ट्रुथ भन्छन्। तर ट्रुथले आएर के सत्य बताउनुहुन्छ, यो कसैलाई थाहा छैन। मलाई र तिमीलाई पनि थाहा थिएन। त्यसैले मानौँ नयाँ कुरा भयो नि। उहाँ ज्ञानका सागर, सचखण्ड स्थापन गर्नेवाला हुनुहुन्छ। अवश्य कुनै समयमा सत्य बताएर जानुभएको छ तब नै त गायन छ। सचखण्डलाई स्वर्ग भनिन्छ। त्यहाँ दैवी स्वराज्य देखाउँछन्। अहिले पुरानो दुनियाँ छ, फेरि नयाँ दुनियाँ बन्नेछ। पुरानो दुनियाँमा आगो लाग्नु छ। स्थापनाको समयमा विनाश पनि गायन गरिन्छ। करन-करावनहार परमात्मा भनी गाइएको छ। ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। कसरी गराउनुहुन्छ? त्यो त स्वयं नै आएर बताउनुहुन्छ। मानिसहरू केही पनि जान्दैनन्। भन्छन्– परमात्मा करन-करावनहार हुनुहुन्छ। र फेरि ड्रामाको पनि थाहा भयो। कलियुग अन्त्य, सत्ययुग आदि... यस सङ्गमलाई नै उच्च मान्नुपर्छ। कलियुगपछि सत्ययुग आउँछ। फेरि तल ओर्लिनु पर्छ। स्वर्ग, नर्क गाइएको छ। मानिस मरेपछि स्वर्गवासी भयो भन्छन्। अवश्य कुनै समयमा स्वर्गवासी भएका छन्। यो विशेष यहाँका मानिसहरूले नै भन्छन् किनकि भारतवर्ष सबैभन्दा प्राचीन हो भनी जान्दछन्। त्यसोभए अवश्य यही स्वर्ग होला। कुरा कति सहज छन् तर ड्रामानुसार बुझ्दैनन् तब त बाबा सम्झाउन आउनुहुन्छ। पुकार्छन् पनि– बाबा आउनुहोस्। हजुरमा जुन ज्ञान छ त्यो आएर हामीलाई दिनुहोस्। पतितहरूलाई पावन बनाउन आउनुहोस्। फेरि भन्छन्– हाम्रो दुःख हरेर सुख दिनुहोस्, तर के ज्ञान दिनुहुन्छ! के सुख दिनुहुन्छ यो थाहा छैन! अब तिमी बच्चाहरूलाई थाहा छ– उहाँ बाबा हुनुहुन्छ भने अवश्य बाबाबाट रचना भएको होला। फादर अर्थात् रचयिता। बच्चाले बाबा भन्यो भने रचना ठहरियो। रचना पनि अवश्य कतैबाट पैदा भएको होला। फेरि बच्चाहरूलाई सम्पत्ति पनि दिनुभएको होला। यो त साधारण कुरा हो, त्यसैले नै मलाई त्वमेव माता च पिता भन्छन्। यसरी बाबा ठुलो गृहस्थी हुनुभयो नि। बोलाउँछन् पनि– हे माता-पिता आउनुहोस्, आएर पावन बनाउनुहोस्। अब पिता त हुनुहुन्छ तर माता विना कसरी रचना हुन सक्छ? यो फेरि यहाँ बाबाले कसरी रचना रच्नुहुन्छ? यो एकदम नयाँ कुरा हो। यहाँ पनि धेरैको बुद्धिमा अडिँदैन र सबै ठाउँमा केवल परमात्मालाई फादर भनेर बोलाउँछन्। यहाँ दुवै हुनुहुन्छ माता-पिता, त्यसोभए प्रवृत्ति मार्ग भयो नि। त्यहाँ केवल फादर भन्नाले उनीहरूलाई मुक्तिको वर्सा मिल्छ। उनीहरू आउँछन् पनि पछि। क्रिस्चियन धर्मभन्दा अगाडि बौद्ध धर्म थियो, त्योभन्दा अगाडि इस्लामी धर्म थियो, यो त सबैलाई थाहा छ। यस सिँढीमा अरू धर्म त छैनन् त्यसैले गोलाको छेउमा राख्नुपर्छ। यो पाठशाला हो। अब पाठशालामा केवल एउटा किताब कहाँ हुन्छ र? पाठशालामा त नक्साहरू पनि चाहिन्छन्। त्यो शारीरिक विद्या त काममा आउनेछैन। नक्साहरूबाट मानिसहरूले तुरुन्तै बुझ्नेछन्। यी तिम्रा मुख्य नक्साहरू हुन्। कति विस्तारले सम्झाइन्छ तैपनि पत्थरबुद्धिहरूले बुझ्दैनन्।

बाबाले सम्झाउनुभएको छ– प्रदर्शनीमा पहिला त्रिमूर्तिमा नै सम्झाउनु छ। उहाँ हाम्रो बाबा हुनुहुन्छ, उनी दादा हुन्। ज्ञान कसरी दिनुहुन्छ? वर्सा कसरी दिनुहुन्छ? तिमीहरूलाई नै वर्सा मिल्नु छ। परमपिता परमात्माले ब्राह्मण, देवता, क्षत्रिय ३ धर्मको स्थापना गर्नुहुन्छ। ब्रह्माद्वारा ब्राह्मण नै रच्नुहुन्छ, यो यज्ञ हो, यसलाई रुद्र ज्ञान यज्ञ भनिन्छ। र, भक्तिमार्गका जुन यज्ञहरू छन् ती ढिलो सुरु हुन्छन् किनकि पहिला-सुरुमा शिवको पूजा अनि देवताहरूको पूजा हुन्छ। त्यसबेला कुनै यज्ञ हुँदैन। पछि यो यज्ञ गर्न सुरु गर्छन्। पहिला देवताहरूको पूजा गर्छन्, फूल चढाउँछन्। अहिले तिमी पूजा लायक छैनौ। मानिसहरू शिवमाथि गएर किन आँक-धतुरो चढाउँछन्? बाबा सम्झाउनुहुन्छ– तिमीहरू सबै काँडा थियौ। तीमध्ये फेरि कोही सदा गुलाब, कोही गुलाब, कोही मोतिया बन्छन्। कोही फेरि आँकको फूल पनि बन्छन्। पूरा पढ्दैनन् भने आँक बन्छन्। कुनै कामका रहँदैनन्। शिवबाबामाथि सबै काँडा चढ्छन्, फेरि उनीहरूलाई फूल बनाउनुहुन्छ तर फूलहरूको पनि भेराइटी बन्छ। बगैँचामा भेराइटी फूल हुन्छन् नि। तिमीहरूमा पनि नम्बरवार छन्। कोही तख्तनशीन बन्नेछन्, कोही के बन्नेछन्– यी सबै कुरा बाबाले नै बुझ्नुहुन्छ, अरू कसैले सम्झाउन सक्दैन। भक्तिमार्ग कति लम्बा-चौडा छ। तर त्यसमा अलिकति पनि ज्ञान छैन। सत्ययुगमा देवी-देवता थिए। कलियुगमा एक जना पनि देवता छैनन्। त्यसैले अवश्य परमात्माले मनुष्यबाट देवता बनाउनुभएको होला। बाबा आएर यस्तो कर्म सिकाउनुहुन्छ जुन मानिसहरूले सिकेर, दैवीगुण धारण गरेर देवी-देवता बने। अरू धर्मकाहरूले के सिकाउँछन् र? किनकि उनीहरू त माथिबाट आफ्नो पछाडि आउनु छ। त्यसैले उनीहरूले केवल पवित्रताको ज्ञान दिन्छन्। क्राइस्ट जब आउँछन् तब क्रिस्चियन त कोही हुँदैनन्। माथिबाट उनको पछाडि आउँछन्। बाबाले सम्झाउनुभएको छ– मुख्य धर्म ४ वटा छन्, जसले धर्म स्थापना गर्छन् उनीहरूको जुन शास्त्र छ, त्यसलाई धर्मशास्त्र भनिन्छ। त्यसैले मुख्य ४ धर्म हुन्। बाँकी सबै साना-साना धर्म हुन् जुन वृद्धिलाई पाइरहनेछन्। इस्लामी धर्मको शास्त्र आफ्नो, बौद्धहरूको आफ्नो। त्यसैले धर्मशास्त्र केवल यिनै ठहरिए। ब्राह्मण धर्म त अहिलेको हो। ती मानिसहरूले गाउँछन्– ब्राह्मण देवता नमः... त्यसैले ती ब्राह्मणहरूलाई सम्झाउनु छ– परमात्माले जब ब्रह्माद्वारा आएर ब्रह्मा मुख वंशावली रच्नुहुन्छ, उनीहरू नै सच्चा ब्राह्मण हुन्। तपाईं त प्रजापिता ब्रह्माको सन्तान हुँदै होइन। तपाईंले केवल आफूलाई ब्राह्मण कहलाउनुहुन्छ, तर अर्थ जान्नुहुन्न। ब्रह्माभोजन जब खान्छन् तब संस्कृतमा श्लोक पढेर ब्रह्मा भोजनको महिमा गाउँछन्। महिमा सारा फाल्तु गर्छन्। उनीहरूलाई सोध्नुपर्छ– तपाईं कसरी ब्राह्मण हुनुभयो? पहिला त ब्रह्मा चाहिन्छ– जसमार्फत परमात्माले सृष्टि रच्नुहुन्छ। त्यसैले सच्चा ब्राह्मण तिमी हौ। ब्राह्मणहरूलाई त टुप्पी देखाउँछन् नि। विराट रूपमा फेरि ब्राह्मण देखाउँदैनन्। त्यसो भए ब्राह्मण कहाँबाट आए? तिमीले आफूलाई ब्राह्मण कहलाउँछौ भने परमात्माले जब आएर ब्रह्माद्वारा नयाँ रचना रच्नुहुन्छ तब ब्राह्मण हौ, फेरि ब्राह्मण नै देवता बन्छन्। ब्राह्मण हुने नै सङ्गममा हो। कलियुगमा सबै शूद्र हुन्। ब्राह्मणहरूको धेरै महिमा गर्छन्। यी सबै कुरा बाबा सम्झाउनुहुन्छ। बाबा र वर्सा, बाँकी विस्तार हो। भक्तिको बारेमा पनि सम्झाउनु पर्छ। बाबाले तिमी कुनै भक्त हौ भनिदिनुहुन्छ, बाँकी बाबाले कहिल्यै रिस आदि गर्नुहुन्न। बाबाले शिक्षा त दिनुहुन्छ नि किनकि बच्चाहरूले यदि भूल गर्छन् भने कसको नाम बदनाम हुनेछ? शिवबाबाको, त्यसैले बाबाले बच्चाहरूको कल्याण अर्थ शिक्षा दिनुहुन्छ। मानौँ यिनबाट कुनै भूल हुन्छ भने पनि त्यसलाई सुधार्नको लागि ड्रामामा निश्चित छ। त्यसबाट पनि फाइदा निस्कनेछ किनकि यिनी ठुलो बच्चा हुन् नि। सारा आधार यिनीमाथि छ, यीबाट कुनै नोक्सान हुनेछैन। यिनले यसो गर भन्छन् भने गरिदिनुपर्छ। तब नोक्सानबाट पनि फाइदा निस्कनेछ। नोक्सानको कुनै कुरा छैन। हरेक कुरामा कल्याणै-कल्याण छ। अकल्याण पनि ड्रामामा थियो। भूल त सबैबाट भइरहनेछन्। तर अन्तमा जुनसुकै हालतमा पनि कल्याण त हुनु नै छ किनकि बाबा कल्याणकारी हुनुहुन्छ। सबैको कल्याण गर्नु छ। सबैलाई सद्गति दिनुहुन्छ। अब सबैको कयामतको समय हो। पापको बोझ सबैको शिरमा छ, त्यसैले सबैको हिसाब-किताब चुक्ता हुनेछ। सजाय मिल्न समय लाग्दैन। सेकेन्डमा जीवनमुक्ति मिल्छ भने के सेकेन्डमा पापको सजाय भोग्न सक्दैनन् र! जसरी काशी कलवटमा हुन्छ। शरीर छुट्छ। तर शिवबाबासँग गएर मिले भन्ने त्यस्तो होइन। केवल पछिल्लो पापको हिसाब चुक्ता भएर फेरि सुरु हुन्छ। बीचबाट कोही फिर्ता जान सक्दैन। चाहे ज्ञान सेकेन्डको छ तर पढाइ त पढ्नु छ। दिनहुँ शिवबाबाको आत्मा जो ज्ञानको सागर हुनुहुन्छ, उहाँ नै आएर पढाउनुहुन्छ। श्रीकृष्ण त देहधारी हुन्। पुनर्जन्ममा आउँछन्। बाबा त अजन्मा हुनुहुन्छ, जसलाई पढ्नु छैन उनीहरूले त अवश्य विघ्न पार्नेछन्। यज्ञमा विघ्न त पर्नेछन्। अबलाहरूमाथि अत्याचार हुनेछन्। त्यो सबै कल्प पहिला अनुसार भइरहेको छ। असुरहरूले कसरी हङ्गामा गर्छन्, चित्र च्यात्छन्, कुनै समय आगो लगाउनमा पनि बेर लगाउनेछैनन्। हामीले के गर्ने? भित्र भावी सम्झन्छौँ, बाहिर पुलिस आदिलाई रिपोर्ट गर्नुपर्ने हुन्छ। कल्प पहिला जे भएको थियो त्यही हुनेछ भनी भित्र जान्दछौ, यसमा दुःखको कुनै कुरा छैन। नोक्सान भयो, धोबीको घरबाट गयो। फेरि अर्को बन्नेछ।

बाबाले भनिदिनुभएको छ– जहाँ प्रदर्शनी आदि गर्छौ त्यहाँ ८ दिनको लागि बिमा गराइदेऊ। कोही असल मान्छे छ भने शुल्क पनि लिनेछैन। बिमा नगराए पनि के हुनेछ र? फेरि नयाँ राम्रा चित्र बन्नेछन्। पाइला-पाइलामा पद्म छन्। तिम्रो पाइला-पाइला, सेकेन्ड-सेकेन्ड धेरै मूल्यवान् छ। तिमी पद्मपति बन्छौ, २१ जन्मको लागि बाबाबाट वर्सा लिन्छौ भने कति राम्रोसँग सम्झाउनुपर्छ। त्यहाँ स्वर्गमा तिमीसँग अनगिन्ती धन हुनेछ। गन्तीको कुरा छैन। बाबाले तिमीलाई कति धनवान्, सुखी बनाउनुहुन्छ। आम्दानी कति ठुलो छ। प्रजा पनि कति धनवान् बन्छन्। यो २१ जन्मको लागि आम्दानीको स्रोत हो। यो मनुष्यबाट देवता बन्ने पाठशाला हो। कसले पढाउँछ? बाबाले। फेरि यस्तो पढाइमा गफलत गर्नु हुँदैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) सदा स्मृति रहोस्– यस कल्याणकारी युगमा हरेक कुरामा कल्याण छ, हाम्रो अकल्याण हुन सक्दैन। हरेक कुरामा कल्याण सम्झेर सदा निश्चिन्त रहनु छ।

२)सदा गुलाब बन्नको लागि पढाइमा पूरा-पूरा ध्यान दिनु छ। पढाइमा गफलत गर्नु छैन। आँकको फूल बन्नु छैन।

वरदान:– अमृतवेलाको महत्त्वलाई बुझेर यस समयलाई यथार्थ रीतिले प्रयोग गर्ने सदा शक्ति सम्पन्न भव
स्वयंलाई शक्ति सम्पन्न बनाउनको लागि दिनहुँ अमृतवेला तनको र मनको सैर गर। जसरी अमृतवेला समयको पनि सहयोग छ, बुद्धि सतोप्रधान स्टेजको पनि सहयोग छ, त्यसरी नै यस्तो वरदानी समयमा मनको स्थिति पनि सबैभन्दा पावरफुल स्टेजको चाहिन्छ। पावरफुल स्टेज अर्थात् बाबा समान बीजरूप स्थिति। साधारण स्थितिमा त कर्म गर्दा पनि रहन सक्छौ तर वरदानको समयलाई यथार्थ रीतिले प्रयोग गर्यौ भने कमजोरी समाप्त हुनेछ।
स्लोगन:– आफ्नो शक्तिहरूको खजानाबाट शक्तिहीन, परवश आत्मालाई शक्तिशाली बनाऊ।

अव्यक्त इसारा:– ब्रह्मा बाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

जसरी ब्रह्मा बाबाले सदा आवाजभन्दा पर आफ्नो श्रेष्ठ स्थितिमा स्थित रहने अभ्यास गरिरहनुभयो। यसबाट उहाँ सर्व व्यक्त आकर्षणहरूभन्दा पर शक्तिशाली न्यारा र प्यारा स्थितिमा रहनुभयो। यसरी नै तिमी बच्चाहरूले पनि त्यो श्रेष्ठ स्थितिमा स्थित रहने अभ्यास गरिराख, तब कर्म गर्दा पनि विशेष शान्तिको शक्तिको अनुभव गरिरहनेछौ, यही अभ्यासले बाबा समान सम्पन्न र सम्पूर्ण बन्नेछौ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।